शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

हज कार्यसम्पादन उपसमितिका अध्यक्ष शोऐबसहित १० जनाविरुद्ध अख्तियारद्वारा मुद्धा दायर

दैनिक नेपाल २०७६ जेठ २९ गते १७:४४

काठमाडाैँ, २७ जेठ । हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब सहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

 साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूका लागि आउन जानकाे लागि हवाई टिकट व्यवस्था गर्न नेपाल हज समितिको सचिवालयले २०७४ जेठ ११ गते आब्हान गरेको शिलबन्दी बोलपत्रमा घाेटाला गरेको भन्दै अख्तियारले साेमबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो  ।

बोलपत्र आब्हानको सूचना प्रकाशित भएबमोजिमका शर्त पालना गरी रितपूर्वक दर्ता हुन आएका युनिभर्स टुर्स एण्ड ट्राभल्स प्रालि (फ्लाई दुबई), हीना टुर्स एण्ड ट्राभल्स प्रालि (एअर अरेबिया) र सिएलिंक टुर्स एण्ड ट्राभल्स प्रालि (इत्तिहाद र ट्रर्किस)ले क्रमश :  रु.८८,९९५।-, ९०,०००।- र ९५,३००।- कबोल गरेकोमा सबैभन्दा कम रुपैयाँमा तिर्थयात्री लाने ल्याउने जिम्मा लिने संस्थासँग सम्झौता गरी बोलपत्रको कार्यान्वयन गर्नुपर्नेमा दोस्रो कम अंक कबोल गर्ने कम्पनीको स्वीकृत गरेको भन्दै मुद्धा दायर भएको हो ।

कम अंक कबोल गर्नेलाई पाखा लगाई बढी अंकवालासँग लाखौँलाख घुस/रिसवत लिई अनियमित, गैरकानुनी र भ्रष्टाचार गरेको भन्ने ब्यहोराको उजुरी आयोगमा परेपछि अनुसन्धान गर्दा सबैभन्दा कम अंक प्रस्ताव गरी हजयात्री लाने ल्याउने जिम्मा लिने संस्थाको बोलपत्र स्वीकृत नगरी हज समितिका अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी हज कार्यसम्पादन उपसमिति गठन गरी अनियमितता गरेको आयोगको ठहर छ ।

कार्यसम्पादन उपसमितिका संयोजक मोहम्मद शोऐब तथा अन्य सदस्यहरुले दोश्रो कम अंक कबोल गर्ने संस्था हिना ट्राभल्स एण्ड टुर्सको बोलपत्र स्वीकृत गर्ने कार्यमा एकलौटी ढंगले निर्णय गरी हज सचिवालयका सदस्य-सचिव तथा लेखापालसँग समेत कुनै पनि आर्थिक तथा सार्वजनिक खरिदसँग सम्बन्धित ऐन नियम पालना सम्वन्धमा कुनै राय सल्लाहसमेत नलिई काम गरेको अख्तियारले जनाएको छ ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा २१ को उपदफा (१) र सोही दफाको उपदफा (२) को देहाय (क) मा उल्लेख भएबमोजिम हिना ट्राभल्स एण्ड टुर्सले बोलपत्रसाथ पेश गरेको बोलपत्र जमानतवापतको ३८ लाख रुपैयाँ जफत गर्नुपर्नेमा बोलपत्र जमानत तथा कार्यसम्पादन जमानतसमेत फुकुवा गरिदिएको पाइएकोले मुद्धा दायर गरिएको अख्तियार सहायक प्रवक्ता मदन कोइरालाले जनाए ।

आयोगले मोहम्मद शोऐब, अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र दाउद हुसैनविरुद्ध मुद्धा दायर भएको हो ।

प्रतिक्रिया
सम्बन्धित