सोमबार, ९ असार २०७६
DainikNepal.com
सोमबार, ९ असार २०७६

पत्रकार महासङ्घद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

दैनिक नेपाल २०७६ जेठ २८ गते १८:४९


काठमाडौँ, २८ जेठ । नेपाल पत्रकार महासङ्घले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले गत वैशाख २९ देखि यही जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्ण रुपमा सफल भएको निष्कर्ष निकाल्दै आगामी असार ३ गतेदेखि विधेयक फिर्ताको माग राख्दै आन्दोलन घोषणा गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी गराए ।

बैठकले असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर सङ्कलन अभियान गर्ने । असार ६ गते सङ्कलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने । असार १० गते मिडिया काउन्सिल विधेयक विरुद्ध काटुन प्रदर्शनी गर्ने । असार १५ गते सबै जिल्ला शाखाले आफ्नो क्षेत्रबाट निर्वा्चित सङ्घीय र प्रदेश सांसदलाई सन्देश पठाएर ध्यानाकर्षण गर्ने रहेको छ ।

यस्तै असार २० गते वृहत ‘प्रेस स्वतन्त्रता सभा’को आयोजना गर्ने । असार २५ गते मध्यान्ह १२ः०० बजे लालटिन जुलुस र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम तय गरिएको छ ।

बैठकले महासङ्घले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान अविलम्ब फिर्ता लिन सरकारसँग पुनः जोडदार मागसमेत गरेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित