शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई, आर्मी उपविजेतामै सीमित

दैनिक नेपाल २०७६ जेठ २५ गते १६:१०

काठमाडाैँ, २५ जेठ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले पहिलो पटक एकल रुपमा प्रतियाेगिताकाे उपाधि उचालेको हो ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेट ले पराजित गर्दै पुलिस च्याम्पियन बन्यो ।

आर्मीले दिएको १ सय २६ रनको सामान्य लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

त्यसअघि पुलिसका पवन सर्राफ र ललितनारायण राजवंशीले घातक बलिङ गरेपछि टस जितेर ब्याटिङ गरेको आर्मीले ३३.३ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रनमात्रै बनाउँन सक्यो। पवन र ललितले समान ४–४ विकेट लिए।

आर्मीका सोमपाल कामीले ३५, राजु रिजालले ३२, भीम सार्कीले २० र रोहित पौडेलले १८ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

सुरुवात राम्रो गरेपनि आर्मीले त्यसलाई निरन्तरता दिन सकेन । पहिलो विकेटका लागि राजु रिजाल र सोमपाल कार्मीले ७२ रनको साझेदारी गरेका थिए । सोह्रौ ओभरको पाँचौ बलमा ललितले सोमपाललाई पवन सर्राफबाट क्याच गराए। ४० बल खेलेका सोमपालले ३ चौका र २ छक्का प्रहार गरे ।

अर्को ओभरले सागर ढकालको बलमा राजु रिजालले स्ट्रेटमा गरेको प्रहार कुशल भुर्तेलले समाते। मध्यक्रमका भरपर्दा ब्याट्सम्यान रोहित पौडेल पनि धेरैबेर क्रिजमा रहेनन् । २३ बल खेलेर २ चौका र एक छक्का प्रहार गर्दै १८ रन जोडेका उनलाई ललितले नै बोल्ड पारे।

२५औं ओभरमा हरिबहादुर चौहानलाई गुमाउँदा आर्मी १००–४ को स्थितिमा थियो। त्यसपछि २५ रन जोड्दा आर्मीले ६ विकेट गुमायो। पवन सर्राफले विनोद भण्डारी(१), भीम सार्की(२०),  कुशल मल्ल(०)लाई पवेलियन फर्काउँदा ललितले राजेश पुलामीमगर(३) र करण केसी(०)लाई एलबिडब्लुको सिकार बनाए।

पुलिसको जितमा ओपनर सुनिल धमलाले ४२ रन बनाउँदा अनिल श्रेष्ठले ४४रन बनाए । कप्तान मनजित श्रेष्ठनले नटआउट ११ रन जोडे।

प्रतियोगिताको तीनै संस्करणको फाईनल खेलेको आर्मीले उपाधि जित्न भने सकेन । अघिल्लो सिजन आर्मीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको थियो । पहिलो संस्करणको उपाधि पुलिस र आर्मीले संयुक्त रुपमा बाँडेका थिए ।

उपाधिसंगै पुलिसले २० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आर्मीले १० लाख रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतिक्रिया
सम्बन्धित