काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्करले जेठ २५ गते पहिलो पटक काठमाडौंमा आफ्नो प्रस्तुति दिँदै छिन् । सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक उनी काठमाडौं आउँदै छिन् ।
जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा कक्कर लाइभ’मा नेहाले आफ्ना लोकप्रिय गीत संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट इन्टरटेन्मेन्टले नेहालाई ठमेलमा रहेको २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्स (एलओडी) मा प्रस्तुत गर्न लागेको छ ।
‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिबार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउन गायिका कक्कड जेठ २४ गते शुक्रबार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउनेछिन् ।
आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलका अनुसार, कन्सर्टमा नेहाको ब्याण्डका संगीतकर्मी तथा यो सिजनको इण्डियन आइडलका टप टेन प्रतिस्पर्धीसहित १८ जना संगीतकर्मीहरूको समूहले आफ्नो सानदार प्रस्तुति दिनेछन् । भारतीय गायिका नेहा कक्कड लाइभमा नेपाली गायक गायिकाहरूको पनि सहभागिता रहनेछ ।
कन्सर्टका आयोजक दीपक घिमिरेका अनुसार कार्यक्रमका लागि अग्रिम बुकिङ प्रारम्भ भैसकेको छ । यसअघि दीपक घिमिरेले बलिउडका लोकप्रिय गायक कुमार सानुलाई नेपाल ल्याएर भव्य सांगीतिक कार्यक्रममार्फत प्रस्तुत गरिसकेका छन् ।
इण्डियन आइडल सिजन २ बाट प्रतिस्पर्धीको रुपमा सांगीतिक यात्रा शुरू गरेकी नेहाले इण्डियन आइडल सिजन १० मा निर्णायकको रुपमा समेत भूमिका निभाइसकेकी छिन् ।
त्यसबाहेक उनले सारेगमप सहित विभिन्न सांगीतिक रियालिटी शोहरूमा निर्णायकको भूमिका नभाइसकेकी छिन् ।
सन् २००८ मै पहिलो एल्बम ‘रक स्टार’ सार्वजनिक गरेकी नेहाले हालसम्म दर्जनौं लोकप्रिय गीतहरू गाइसकेकी छिन् । उनका लोकप्रिय गीतहरूमा ‘इस्मे तेरा घाटा’, ‘मिले हो तुम हमको’, ‘काला चस्मा’, ‘आँख मारे’, ‘कोकाकोला’, ‘नैना’, ‘गल्ली गल्ली’, ‘दिलवर दिलवर’, ‘सावान आया है’, ‘धदिङ नाच’, ‘लण्डन थुमक्डा’, ‘दो पेग मार’, ‘मैं तेरा ब्वाइफ्रेण्ड’ आदि छन् ।















प्रतिक्रिया