मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

चलचित्र कलाकार संघमा खड्कालाई नेकपा, लामिछानेलाई राप्रपा (संयुक्त)को साथ

दैनिक नेपाल २०७६ जेठ २३ गते ९:५७

काठमाडौं, २३ जेठ । नेपाल चलचित्र कलाकार संघको निर्वाचन नजिकिँदै गर्दा कलाकारहरूले आफूलाई मत माग्न सक्रिय बनाएका छन् ।

अध्यक्ष पदमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र पशुपति शम्शेर राणा नेतृत्वको राजावादी पार्टी राप्रपा (संयुक्त) निकटका कलाकारहरूले साथ दिएर भोट माग्न घरदैलो शुरू गरेका छन् । कांग्रेसले अध्यक्ष पदमा उम्मेदवारी दिएको छैन ।

कलाकार संघको अध्यक्ष पदमा कलाकारद्वय रविन्द्र खड्का र सरिता लामिछानेले उम्मेदवारी दिएका छन् । खड्का तत्कालीन एमाले निकटका कलाकार हुन् । लामिछानेले आफूलाई स्वतन्त्र दाबी गर्ने गरेपनि पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (संयुक्त) केन्द्रीय सदस्य रेखा थापाले साथ दिएकी छिन् । दुई दिन अगाडि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री थापाले लामिछानेको पक्षमा भोट माग गरेकी थिइन् ।

लामिछानेलाई गौरी मल्ल र करिश्मा मानन्धरले पनि साथ दिएका छन् । खड्कालाई सत्तारुढ नेकपा कलाकारहरूको साथ रहेको छ । यद्पि खड्काले नेकपा निकटका कलाकारकाे कुरा नसुनेकाे भनेर केही कलाकार रिसाएका पनि छन् ।

नेपाली कांग्रेस निकटको नेपाल सांस्कृतिक संघले अध्यक्षमा उम्मेदवार नपाएपछि यस पटक अध्यक्ष उठाएको छैन ।

तर, कांग्रेस निकटका कलाकारहरू खड्का र लामिछानेतिर बाँडिएका छन् । हुन त खड्का र लामिछाने दुबैले आफूलाई स्वतन्त्र भन्न रूचाउँछन् ।

कांग्रेस निकटका कलाकारितामा सक्रिय कलाकारहरूले लामिछानेलाई साथ दिएको स्रोतको भनाइ छ । कांग्रेसका केही पुराना कलाकारहरूले खड्कालाई साथ दिएका छन् ।

चलचित्र कलाकार संघको चुनाव जेठ २५ गते शनिबार काठमाडौंमा हुँदै छ । चुनावलाई आफ्नो प्रभावमा पार्न अनेकौ तिकडम शुरू भएका छन् ।

उम्मेदवारहरूले राजधानीका होटेलहरूमा बेलुका–बेलुका मदिरा पार्टी दिन शुरू गरिसकेका छन् ।

उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएसँगै खड्का र लामिछानेले आफूलाई जबरजस्त रुपमा प्रस्तुत गरेका छन् । खड्का कलाक्षेत्रबाट विस्थापित हुने बेला कलाकार संघको राजनीतिमा प्रवेश गर्दै छन् । लामिछाने अहिले पनि कलाकारितामा सक्रिय छिन् । लामिछानेले आफूले सिरियलहरू बनाउनेदेखि अभिनय गर्छिन् ।

सुरुवातमा नेकपा निकटका लय संग्रौलाले पनि अध्यक्ष पदमा रहर गरेका थिए । पराजित हुने डरले अध्यक्ष पदमा उम्मेदवारी दिएनन् ।

तत्कालीन अध्यक्ष रामकेशर बोगटीसँग पनि संग्रौला चुनाव लडेका थिए । संग्रौलालाई पछि पार्दै बोगटी नेपाल चलचित्र कलाकार संघको अध्यक्ष चुनिएका थिए । बोगटीको निधन भइसकेको छ ।

उपाध्यक्षमा मनोज केसी (कांग्रेस), रेजिना उप्रेती (नेकपा), सानुकुमार ताम्राकार (स्वतन्त्र) र विनोदकुमार भट्टराई (कांग्रेस)ले उम्मेदवारी दिएका छन् ।

महासचिवमा सञ्जय खतिवडा (कांग्रेस) र चेतबहादुर सिंह (कांग्रेस) भिड्दै छन् ।

सचिवमा पनाह अधिकारी (मोहन वैद्य नेतृत्वको माओवादी) र कविता गेलाल शर्मा (स्वतन्त्र) तथा राजकुमार शाह (कांग्रेस)ले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा सुनिल कट्वाल (कांग्रेस) निर्विरोध भइसकेका छन् । सह–कोषाध्यक्षमा पवित्रा आचार्य (कांग्रेस) र धनबहादुर बम्जन (नेकपा)को उम्मदवारी परेको छ ।

सदस्यहरूमा लक्ष्मण चौलागाइँ, सुदर्शन आचार्य, धर्मानन्द आचार्य, किशोर भण्डारी, श्यामकृष्ण श्रेष्ठ, शारदा नेपाल, माधव पौडेल, राजेन्द्रकुमार बिसुराल, जीवन थापा, जिके श्रेष्ठ, जयकिशन बस्नेत, शीतल केसी, उद्धवप्रसाद भट्टराई, धनराज केसी, गोपाल ढकाल, रोहित रुम्बा र पवनप्रसाद खतिवडाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित