४ कार्तिक २०८३, बुधबार

पशुपतिको सम्पति : एक अर्ब २९ करोड नगद, ९ किलोग्राम सुन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २२ जेठ । पशुपति क्षेत्र विकास कोषले सम्पत्ति विवरण सार्वजनिक गरेको छ । कोषमा एक अर्ब २९ करोड नगद, ९ किलोग्राम सुन र तीन सय १६ किलोग्राम चाँदी छ।

कोषको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन समितिले बुधबार पत्रकार सम्मेलन गर्दै कोषमा नगद, सुनचाँदी र जग्गाबारे जानकारी दिएको हो।

कोषका सदस्य सचिव प्रदीप ढकालले कोषको स्वामित्वमा १८ हजार तीन सय ४२ रोपनी जग्गा रहेको बताए । कोषले २०१९ सालदेखि २०७५ सालसम्मको विवरण सार्वजनिक गरेको हो।

२०१९ सालभन्दा अघिको विवरण भने कोषले खुलाएको छैन। नगद रकम भने विभिन्न बैंकमा जम्मा गरिएको छ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको २०७४ कात्तिक ६ गतेको निर्णयअनुसार गठन भएको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानबिन समितिले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

समितिले ०७४ कात्तिक १६ गतेदेखि काम सुरु गरेको थियो । अध्ययनको लागि समय अपुग भएपछि ०७५ साउन २९ मा समितिको म्याद छ महिना थप गरिएको थियो।

पशुपतिनाथ भण्डार तहबिलबाट प्राप्त तायदाती मुचुल्का अनुसार वि.सं. २०१९ देखि २०६८ सम्म ८ किलो २ सय ३२ ग्राम सुन र १ सय ७५ किलो ४ सय ५८ ग्राम चाँदी मूल ढुकुटीमा दाखिला भएको देखिएको छ ।

त्यस्तै ०६८ देखि ०७५ सालसम्म सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरणअनुसार १ हजार ४४.६४ ग्राम सुन र १ लाख ४१ हजार १ सय २८.७५ ग्राम चाँदी ढुकुटीमा जम्मा भएको छ। समितिले वि.सं. २०१९ भन्दा अगाडिको तायदाती मुचुल्का फेला पार्न नसकेको पनि जनाएको छ।