४ कार्तिक २०८३, बुधबार

सुरु भयो नेकपाको सचिवालय बैठक, टुंगिएला विवाद ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २२ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ७७ जिल्लाका इन्चार्ज र सह-इन्चार्ज तय गर्न बसेको सचिवालय बैठकमा बुधरबार पनि मापदण्डबारे छलफल सुरु भएको छ ।

बैठकमा हिजो छोडिएकै विन्दुबाट छलफल सुरू भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

मंगलबारको बैठकमा जिल्ला इन्चार्ज र सह-इन्चार्ज तोक्ने प्रस्तावमा छलफल भए पनि मापदण्डका विषयमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद भएको थियो । विवाद बढेकै कारण बैठक आजका लागि स्थगित गरिएको थियो ।

नेता नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायत नेताहरू मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि भइसकेका नेताहरूलाई दोहोरो जिम्मेवारी दिनै नहुने अडानमा छन् ।

प्रधानमन्त्री ओली, पार्टी महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल पहिले नै जिम्मेवारीमा रहेका नेताहरूलाई पार्टीभित्र पनि जिम्मेवारी दिँदा फरक नपर्ने पक्ष लिइरहेका छन् ।

गत सोमवार अध्यक्षद्वय ओली र प्रचण्डबीच जिल्ला इन्चार्ज र सह-इन्चार्जमा सहमति भएको थियो । तर, मंगलबारको बैठकमा मापदण्डका विषयमा ओली र नेपालबीच विवाद भएकाले टुंगोमा पुग्न नसकेको हो ।

अध्यक्ष ओलीले सांसद र मन्त्रीसमेतलाई जिल्ला इन्चार्ज र सह-इन्चार्ज बनाउने प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा वरिष्ठ नेता नेपालको असहमति छ ।

पूर्वएमालेमा भागबण्डा मिलेमा बुधबारको बैठकले ७७ जिल्लाका इन्चार्ज र सह-इन्चार्ज टुङ्गो लगाउने स्रोतको बताएको छ ।