
काठमाडौँ, २० जेठ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षका प्रत्यासी प्रकाशनरसिंह राणालाई गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)ले पनि समर्थन गरेका छन् ।
राणासँग सोमबार भेटेर गुरुङले समर्थन जनाउँदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
यसअघि राणालाई काठमाडौँ महानगरपालिका वडा नम्बर १६, १७ र २६ का जनप्रतिनिधिहरुको समर्थन प्राप्त भइसकेको छ । ठमेल क्षेत्रको पर्यटन विकासका लागि पर्यटन व्यवसायी राणालाले केहीदिन अघि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए ।
यही जेठ २५ गते ठमेल पर्यटन विकास परिषद्को साधारणसभा हुँदैछ । ठमेल क्षेत्रको पर्यटन विकासमा पाको, परिपक्व र मेहनति पर्यटन व्यवसायीका रुपमा परिचित राणालाई परिषद्को नेतृत्व दिँदा उपयुक्त हुने भएपछि उनलाई अघि सारिएको युवा व्यवसायी वकील बमले जानकारी दिए ।
ठमेल क्षेत्रका पर्यटन व्यवसायी तथा घरधनीबीच सौहार्द सम्बन्ध, ठमेलको विकासमा सहकार्य, सरसफाई, फोहर व्यवस्थापन, ढल सुधार, आकर्षक तथा कलात्मक होर्डिङबोर्ड, झाङ्गीएका तारजाली व्यवस्थापन र फुटपाथहरुलाई व्यवस्थित बनाउने योजना रहेको अध्यक्षका प्रत्यासी राणाको प्रतिवद्धता छ ।
शान्तिसुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील ठमेलको सुरक्षाका लागि महानगरीय प्रहरी वृत्त दरवारमार्ग र सोह्रखुट्टे वृत्तसँग समन्वय र सहकार्य गरी चोरी डकैति, पकेटमारी, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायत विभिन्न समस्या समाधान आफ्नो पहल रहने राणाको प्रतिवद्धता छ ।
पर्यटन व्यवसायी राणाले परिषद्का करिब आठसय सदस्यहरुले उठाउँदै आएका जल्दाबल्दा समस्या तथा वर्तमान परिषद्को कार्यसमितिले विगतदेखि अगाडि बढाउँदै आएको पर्यटन व्यवसायको श्रीबृद्धिका लागि विकास निर्माणका योजनालाई निरन्तरत दिने र शान्ति सुरक्षालाई थप सशक्तरुपमा अगाडि बढाउदै लैजाने राणाले बताएका छन् ।
राणा अहिलेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् । उनलाई ठमेल क्षेत्रका आम सर्वसाधरण, व्यवसायी, स्थानीय प्रशासन लगायत सबैले रुचाएको दाबी गरिएको छ ।















प्रतिक्रिया