
काठमाडाैँ । उनी यो शहरलाई दुश्मन मान्छन् । दुश्मन यसमानेमा कि यो शहरका कयौँ दरबारहरुमा उनका पुर्खाको रगत—पसिनाको लेपन छ । यो शहरका कयौँ गल्लीमुनि उनका पुर्खाका हड्डीहरु सायद अहिले पनि होलान् ।
यति मात्र होइन, यो यही शहर हो जसले उनका जवान पुर्खाको रगत चुसेर अस्थिपञ्जर बनाएर गाउँ फर्कायो । जीवनका कयौँ हिउँदहरु खाली खुट्टै हिँडेका थिए उनका पुर्खाहरुले–यो शहरका हरेक गल्लीहरुमा । र, जीवनका कयौँ बर्खाहरु ओतविहिन बिताएका थिए उनका पुर्खाहरुले–यो शहरका भित्ताहरुमा ।
भिमफेदीबाट गाडी बोकेर ल्याउने उनको पुर्खाको गर्विलो इतिहास त छँदैछ, त्यो भन्दा कालो इतिहास छ गाडी बोक्दै गर्दाको । बिना ज्याला शासकहरुको गाडी पटपट फाटेका पैलाबाट रगत चुहाउँदै काठमाडौँ पुर्याएका थिए उनका पुर्खाहरुले ।
मान्छेको दोस्रो जुनी हुन्छ या हुँदैन थाहा छैन । तर, उनी अर्को जुनी पत्रकारकार रुपमा फेरि यही दुश्मन शहरमा जन्मिएको मान्छन् ।
उनी, अर्थात कवि/पत्रकार फूलमान वल अहिले यही दुश्मन सहरमा आफ्ना पसिना बगाइरहेका छन् । खियाइरहेका छन् औँलाहरु र, कुँदिरहेका छन् अक्षर । र, अल्मलिएका छन् यतैयतै वर्षाैँदेखि । यो शहरको कुनै चौबाटोमा उभिएर उनी भन्छन् :
यहीनेरबाट मलाई
घोडाले लतार्दै तानेको हुनुपर्छ
यहीनेर मैले अन्तिमपटक आँखा चिम्लेको हुनुपर्छ
मैले कोर्रा खाएको दरबारको भित्री चोक
सायद यही नै हुनुपर्छ
धरहराबाट जंगबहादुर हामफाल्दा
तल ढाड थापिरहेका हामी पिपाहरुको
हड्डी र करङ धुलिसात भएको सुन्धारा
हो, यही हुनुपर्छ
दरबारका लागि इँट्टा र काठ बोक्दा बोक्दै
टिबी लागेर मरेको
म यहींनेर हुनुपर्छ
यहीनेरबाट बगेको हुनुपर्छ हाम्रो रगतको खोलो
खै त त्यो पिपलको बोट ?
त्यो टुँडिखेलको ठुलो मैदान ?
हनुमान ढोकासम्म जोडिएको त्यो चौंडा बाटो ?
त्यही चौंडा बाटोबाट घिसार्दै
पिपल चौतारोमा उभ्याएर
कोर्राले कुटि कुटि फ्याँकिएको
हो, यहींनेर हुनुपर्छ
सिंह दरबारको यही ढोकानेरै हुनुपर्छ,
सतिसालको काठ चिर्दा मेरो हात खसेको
यही नासल चोकमा हुनुपर्छ
काठमा सुन्दर बुट्टा भर्ने मेरा औंलाहरु
चटचटी काटिएका
केशर महल,
बबर महल
सिता महल,
बाग दरबार
थापाथली दरबार
नारायणहिटी
हो, यतै कतै कुँदिएका हुनुपर्छ–
मेरी धामोरानीका संझनाहरु
यतैकतै फुटेको हुनुपर्छ उसका चुराहरु
यतैकतै टुटेका हुनुपर्छृ– उसका सपनाहरु
यो दुस्मन शहरमा
म फेरि जन्मेको छु
पत्रकारको जुनि लिएर ।
राष्ट्रिय नाँचघरको मिनि प्रेक्ष्यालयमा विहीबार वलले यो कविता सुनाउँदै गर्दा धेरैको शरीरमा काँडा उम्रियो । फूलमानका नशामा फेरि एकपटक रगतको रकेट चल्यो ।

सांस्कृतिक संस्थानको आयोजनामा कवि वलको एकल कविता वाचनमा उनले पुर्खाका कुरा मात्र गरेनन् । विकाससँगै गाउँमा भित्रिने विकृतिका पनि कुरा गरे । कवितालाई आफ्नो अभिव्यक्तिको माध्यम मान्ने फूलमानले समाजका अनेक विरुपविरुद्ध धावा बोले ।
उसो त उनी आफूलाई कवि मान्दैनन् । र, कवि बन्नका लागि लेखेको पनि मान्दैनन् । मनभित्रका भावनाहरु, समाजका चित्रहरु उर्तादा उर्तादै कतिबेला उनका शब्दहरु कवितामा पोखिन्छन् उनी थाहै पाउँदैनन् ।
जस्तो, महाभारतकी मैच्याङ लेख्दै गर्दा समयको एउटा कुरुप विम्ब उत्रियो :
महाभारतकी मैच्याङ
र्सोह वर्ष पुगेको
आज दुई वर्ष भयो
दुईवटा ल्होछार आए
दुईपटक गुराँस फूल्यो
दुईपटक भुइँऐँसेलु पाक्यो
दुई याम पार्यो तित्राले फुल
तर रूमाल हल्लाउँदै च्याङबा आएन
टाढाबाट गौँथली–
वेगले पखेटा फट्फटाउँदै फर्केको साँझ,
आलो धुलो उडाउँदै
नागबेली बाटो भएर
महाभारत उक्लेको मिनीटाटामा
ऊ खोज्न गई च्याङवालाई
‘छ्या कस्तरी हेर्छ यो मान्छे ?
चुल्ठोको फूल हेरेको कि यो छातीको धडकन ?
नासपातीको रूख हेरेको कि मेरो गाला ?
घरको झ्याल हेरेको कि मेरो गाजलु आँखा ?
मोबाइलले धाराको पानी खिचेको कि मेरो फोटो ?
मात्तेको ड्राइभर !’
यसपछिको
पहिलो भेटमा–
मैच्याङले पाई
एक सय असी रुपियाँको टेरलिङ फरिया
दोस्रो भेटमा–
छ सय पच्चीस रुपियाँमा किनेको
सेकेन्ड ह्यान्ड चाइनिज नोकिया सेट
तेस्रो भेटमा–
सय रुपियाँको एनसेल सीम
र, छयानब्बे रुपियाँको म्याजिक चप्पल
जम्मा एक एकहजार एक रुपियाँमा
पग्ल्यो मैच्याङको मन
च्यातियो च्याङबाको फोटो
हाँसे मोटे ड्राइभर
उड्यो धुलो बाटोमा
गाउँबाट ओझेल र्पयो मिनीटाटा
फैलियो खबर–
‘मैच्याङ हराई, मैच्याङ हराई’
धारामा सुनियो–
‘राजेश हमाल भेटाउन लग्यो होला नि डाइभरले ।’
त्यही रात उसले तीनवटा भीमकाय पहाड थामी
उसलाई राम्ररी याद छ–
पहिलो अनुहार ड्राइभरको थियो
दोस्रो खलासीको
अनि तेस्रोलाई चाहिँ दुवैले ‘साउजी’ भन्थे
गाउँ, आमा र च्याङबालाई सम्झेर
निकैबेर रोएको त्यही साँझबाट
महाभारतकी मैच्याङ
मोनिका भइन् मोनिका
र, ठमेलको नरसिंह चोकछेउ
ब्लु डायमन्ड मसाज पार्लरभित्र
जवानीको पसल थाप्न थालिन्
महाभारतकी मैच्याङ
र्सोह वर्ष पुगेको
आज र्सोहै वर्ष लागेको दिन,
गलैँचा बुन्दा बुन्दा टिबीले ख्याउटिएको
च्याङवा
‘खै के हो कुन्नी’ रोगले थलिएकी
मैच्याङलाई डोर्होयाउँदै
महाभारतको उकालो चढ्दै छ ।
….
लेखक एवं नेकपा नेता रघजी पन्त, जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई लगायत उपस्थित कवि, कलाकार र दर्शक/स्रोतालाई साँक्षी राखेर फूलमानले पुर्खा र मैच्याङको मात्र कुरा गरेनन् । मान्छे हुनका लागि संघर्ष गरिरहेका मान्छेहरु यान्त्रिक बन्दै गएको तथ्यलाई पनि व्यक्त गरे ।
उनलाई लाग्छ, आजका मान्छेहरु मान्छे होइनन्, उनीहरु त आधुनिक र बहुआयामिक दास हुन् । जस्तो मान्छे कुदिरहन्छ मालिकको सेवामा, जसबाट उसले पाउँछ जीवन निर्वाहको ज्याला । थाहा छैन, ऊ कुद्दा कुद्दै कति पञ्चर भएका उसको जीवनका टायरहरु :
आजका मान्छे,
आधुनिक र बहुआयमिक दास हुन्
जस्तो कि म–
एउटा मालिकको शो रुमबाट किन्छु बाइक
अर्को मालिकको पम्पमा हुन्छु ग्राहक
र, कुद्छु अर्कै मालिकको सेवामा
जसले मलाई ‘जीवन निर्वाहको ज्याला’ दिन्छ
कुद्दा कुद्दै बाइक सडकमा,
पञ्चट हुँदै जान्छन् मेरा उमेरका पाङग्राहरू
भर्दा भर्दै तेल पम्पमा,
रित्तिदै जान्छ– मेरो सपनाको बहिखाता
आकांक्षाको सडक नाप्दा नाप्दै
पछारिन्छु म प्रश्नहरुको जेब्राक्रस छेउ
र, टाल्नै नसक्ने गरि च्यात्तिसकेको हुन्छ त्यसबखत
मेरो जिन्दगीको ट्युब
बदलामा,
मोटाउँदै जान्छ शो रुम
र, मुनाफाको चिल्लो सडक छेउ–
देखापर्छ अत्याधुनिक ग्यास स्टेशन
आजका मान्छे–
सौखिन र डिजिटल दास हुन्
जस्तो कि म,
एउटा मालिकको कारखानाबाट कमाएको पैसाले
किन्छु म अर्को मालिकको कारखानामा उत्पादित
स्मार्ट फोन र रिचार्ज कार्ड
ताकी घरबाटै बुझ्न सकुँ– बैंक एकाउन्टको रिपोर्ट
तिर्न सकुँ विजुली–पानीको बिल
र, बोल्न सकुँ घण्टौंसम्म आफन्त सित
यस्तो कि– बोले बापतकै पैसा तिर्न
खान्छु म अर्को महिनाको जागिर
र, फेरी बोल्छु÷बोलिरहन्छु
बोल्दा बोल्दै मोबाइलमा–
गुमाउँदै जान्छु म– आफ्नै बोली
अन्तत स् लामबद्ध हुन्छु
मन्द–लाटाहरुको ग्लोबल कन्फ्रेन्समा
मुख्य प्रायोजक अर्थात उही मोबाइल कम्पनि
भनिरहेको हुन्छ–
‘बोल्नु तपाईंको अधिकार हो ।’
आजका मान्छे–
मालिक जस्तै देखिने दिग्भ्रमित दास हुन्
जस्तोकि मेरो छिमेकी,
चढ्छ अहमको कार
अग्ल्याउँछ दम्भको महल
कुद्दा कुद्दै कारमा
चढ्दा चढ्दै लिङ्खटमा
खियाउँदै जान्छ ऊ किस्ताबन्दी उमेर
महत्वाकांक्षाको रिन काढेर भावी सन्तानलाई
इन्द्रेणी बजारको इमान्दार क्रेता बनेर
अस्ताई जान्छ बुढो घाम झैं ऊ
आजका किसान त झन–
हाइब्रिड भुदास हुन्
पुर्खाहरुको आदिबासी आँगनमा
जोत्छ ऊ ‘मनसान्टो’ हलो
धान, मकै र गहुँ पठाएर बजारमा
किन्छ ऊ तयारी चाउचाउ र हर्लिक्स
आफ्नै माटोमा फल्ने सपनाको विउ पनि अब
किन्नुपर्छ उसले बजारबाटै
र, त्यहाँसम्म पुग्ने द्रुतमार्ग बनाउनकै लागि
भत्काइरहेछ ऊ आज सताब्दियौं देखिको अग्र्यानिक आली
हो, आजका मान्छे
आधुनिक दास हुन्
प्रजातान्त्रिक दास हुन्
अर्थात,
स्वतन्त्र दास ।
….
कतिले कवितालाई आत्माको भाषा हो भन्छन्, कतिले ससाजको ऐना हो भन्छन् । कतिले समयको चित्रका रुपमा अर्थ्याउँछन् । जे होस् कविताप्रतिको बुझाई फरक फरक होलान्, कविता लेख्ने शैली फरक फरक होला । यसमा उनलाई कुनै अफसाेच छैन । फूलमानलाई लाग्छ कविताले जीवन बोल्दियोस्, बस् !
यसैले पनि उनले आफ्ना कवितामा महाभारत अटाएका छन्, हिमाल अटाएका छन् र तराईको शितलहर अटाएका छन् । कवितालाई आफ्नो अभिव्यक्ति मान्ने फूलमानले आफ्नै जन्मभूमि, समाज वा समुदायका कुरा कवितामा बढि उल्लेख गरेका छन् । जसलाई उनी स्वभाविक मान्छन् ।
अनि, उनी चाहान्छन् कवितामा सबै अटुन्, सबैलाई अटाइयोस् । एक दर्जन कविता सुनाएका फूलवानले यही भावलाई आत्मसात गर्दै कविता वाचनलाई बिट मारे ईन्द्रेणी गीत मार्फत :
वषौंदेखि तिम्रो इतिहासले
विस्मृतिको बुइँगलमा मिल्काइ दिएको
पेङदोर्जेको उही प्राग ऐतिहासिक डम्फू बजाउँदै
गाएकै हुँ मैले,
नयाँ युगको फापरे व्हाई
यसको मतलब यो हैन कि
मैले मादलको ताल बिगारें
मादललाई त
लाउँदै मायाको खरी
पागल प्रेमीले झैँ
भिर्दै आएकै हुँ दिलको कम्मरमा
गाउँदै आएकै हुँ तिम्रै एकोहोरो समला र चुट्की
हो मित्र,
बषौंदेखि तिम्रो इतिहासले
बिस्मृतिको बरण्डामा बाँधी राखेको
आखे म्हेम्हेको उही पुरानो टुङ्ना बजाउँदै
गाएकै हुँ मैले नयाँ युगको म्हेन्दोमाया
यसको मतलब यो हैन कि
मैले सितारको धुन बिगारें
सितारलाई त
झन तन्काउँदै प्रणय तार
पागल प्रेमीले झैं
राख्दै आएकै हुँ मनको देब्रे कुनामा
गाउँदै आएकै हुँ तिम्रै एकोहोरो वसन्त बन्दना
बरु कुनै समय,
सहगोत्री सहनाई र सारंगीलाई
मिल्काएर ढोका बाहिर तिमीले
बनाइदिएका थियौ अछुत
र, निदाएका थियौ लामो समय तिमी
घमण्डको राज पलङ
दुखाएर मुर्चुङगा,, ढोल, डम्फु र बाँसुरी मन
जुन दिनदेखि तिमी निदायौ त्यसरी
त्यही दिनदेखि,
कमजोर बनेको हो हाम्रो आँगनको चिरबिर लय
सुस्क सुनिएको हो स्वाभिमानी सारंगी
रुन थालेको हो सहगोत्री सहनाई
हो, त्यही दिनदेखि नै
बज्न थालेको हो हाम्रो आँगनमा
आतंकको डरलाग्दो ड्रमसेट
सुनिन थालेको हो चारैतिरबाट
एकसरो एकसरो अहम्को आलाप
हो मित्र,
बषैंदेखि तिम्रो इतिहासले
विस्मृतिको बुइँगलमा मिल्काइदिएको
पेङदोर्जेको उही प्राग ऐतिहासिक डम्फू बजाउँदै
गाएकै हुँ मैले,
नयाँ युगको विहानी गीत
तिमीले सदियौँदेखि गाउँदै आएको
एकसरो गीतमा
मात्र मैले,
चाहेको हुँ थप्न एउटा रंगीन लय
जसरी सप्तरंगमा उभिन्छ इन्द्रेणी
जसरी सप्तक स्वरमा गुन्जिन्छ संगीत
त्यसरी नै गाउन चाहेको हुँ
मैले पनि समयको
एउटा इन्द्रेणी गीत !















प्रतिक्रिया