काठमाडौं, १८ जेठ । स्थानीय सरकारको स्वीकृति नै नलिई व्यवसायीहरूले बूढानीलकण्ठ नगरपालिकामा जथाभावी जग्गा प्लटिङ गरेका छन् । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।
आफूखुसी डोजर लगेर पहाड खारिए पनि नगर र वडा कार्यालयले नियन्त्रण गरेका छैनन् । नगरप्रमुख उद्धव खरेलका अनुसार अनधिकृत प्लटिङको यकिन तथ्यांक नभए पनि कम्तीमा एक हजार रोपनीमा डोजर चलाइएको छ ।
मापदण्डअनुसार जग्गाधनीले भिरालो पाखामा डोजर प्रयोग गर्नुपर्ने भए नगरको पूर्वस्वीकृतिमा वडाबाट सिफारिस लिनुपर्छ। स्थानीय सरकारको नियम र उपत्यका विकास प्राधिकरणको मापदण्डमा स्वीकृति लिएर डोजर चलाउँदा पनि सँगैको जग्गालाई असर नगर्ने गरी केही भाग मात्रै मिलाउन पाइने उल्लेख छ।
खोला, खोल्सी तथा सार्वजनिक सिमानाको लागि ४ मिटर छुट्याउनुपर्ने, बाटो २० फिट राख्नुपर्ने तथा ९० डिग्रीभन्दा भिरालो जमिनमा डोजर लगाउनुपूर्व प्राविधिकको सल्लाह लिनुपर्छ। तर, यहाँका अधिकांश प्लटिङ मापदण्डभित्र नरहेको वडा नम्बर १, २, ५ र १३ ले स्विकारेका छन्।
उपत्यका विकास प्राधिकरणका अनुसार ३० प्रतिशतभन्दा माथिको भिरालो भागमा प्लानिङ गर्न मिल्दैन। कसैले यो मापदण्ड मिचे ऊक्त व्यत्तिको जग्गा रोक्का गरिदिने व्यवस्था छ। भूमाफियाहरुले ढिस्को भत्काउनुपर्यो भन्दै प्लटिङ गर्ने गरेको प्राधिकरणका सूचना अधिकारी केशवप्रसाद न्यौपानेले बताए।
वडाका अधिकारीहरू कसैले उजुरी नै दिन नआएकाले कारबाही गर्न नसकिएको दाबी गर्छन्। आफूले सबै ठाउँ अनुगमन गर्न नभ्याएकाले बेथिति बढेको नगर प्रमुख खरेलले बताए।















प्रतिक्रिया