७ कार्तिक २०८३, शनिबार

बालुवाटारको जग्गा लाखमा किनेर करोडौँमा बिक्री गरेको खुलासा, रातारात मालामाल

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेका शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘काठमाडौं छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवैजना केही वर्षमै कान्तिपथको ५/७ रोपनीमा फैलिएको घरजग्गा आँट्ने हैसियतमा पुगेका थिए,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतले कान्तिपुरसँग भन्यो, ‘यो बीचमा उनीहरू अनेक छल, तिकडम, राजनीतिक पहुँच र प्रभावमा खेल्न थाले र सरकारी जग्गा हत्याए ।’ दुवैजना हाल फरार छन् । उनीहरूसँग जोडिएका कतिपय सरकारी अधिकारीसमेत अख्तियारले अनुसन्धान सुरु गरेपछि फरार छन् ।

०४९ सालमा सरकारले जफत भएको भन्ने व्याख्या गरी ललिता निवासको जग्गा केही राणा परिवारलाई फिर्ता गरेको थियो । रुक्मशमशेरहरूले जग्गा फिर्ता पाउँदा मोहीको लगतसहितको जग्गा पाएका थिए । मोहीहरूले पनि त्यही जग्गाको मोही प्रमाणपत्र माग गरिरहेका थिए । सुवर्णशमशेरका सन्तानले जग्गा फिर्ता पाएपछि त्यसमा जोडिएका मोहीलाई वञ्चित गर्नु हुँदैन भनेर तत्कालीन एमालेका केही नेता दौडधुपमा लागेको जानकारहरू बताउँछन् ।

‘उनीहरूले मोही संरक्षणको नारा लगाएर हिँडेका थिए, मोही दाबी गर्नेहरूले राणाहरूको भाग हामीलाई पनि चाहिन्छ भन्दै विभिन्न ठाउँमा दौडधुप बढाएका थिए,’ बालुवाटार जग्गाबारे जानकार राणा परिवारका एक सहयोगीले कान्तिपुरसँग भने, ‘लेखनदास रामकुमार सुवेदीले उनीहरूको लिखत र निवेदन तयार गर्थे ।’

मोहीहरूलाई त्यतिबेला शोभाकान्त ढकालले बोकेका थिए । जिल्ला अदालत काठमाडौंबाट ३३० नम्बरको लेखनदासको प्रमाणपत्र लिएका रामकुमार सुवेदी डिल्लीबजार मालपोतको पीपल चौतारामा बसेर घुँडामा नेपाली कागज राखी लेखापढी गर्थे । जग्गाको अनेक खेलमा लागेका ढकाल कामविशेषले मालपोत कार्यालय पुगेका थिए । त्यहाँ सुवेदीसँग भेट भयो ।

केहीबेरको कुराकानीमै ढकाल सुवेदीसँग घुलमिल भए । यसबारे अनुसन्धान गरिरहेको सीआईबी स्रोतका अनुसार कहाँनिर कसरी खेल्नुपर्छ भनेर ढकालले तत्काल चाल पाइहाले अनि रामकुमारलाई साथ लिएर अघि बढे ।