७ कार्तिक २०८३, शनिबार

नेपाली बन्द गरी भारतीय उद्योग चलाउँदै युनिलिभर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । हेटौंडामा सञ्चालित बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडले नेपाली उद्योगीको लगानी रहेको सहायक उद्योग धमाधम बन्द गर्न थालेको छ। त्यसको सट्टा भारतीय लगानी रहेको सहायक उद्योग खोल्न थालेको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको युनिलिभरका तीनवटा सहायक उद्योगमध्ये दुईवटा बन्द गरिएको छ। युनिलिभरका लागि सनसिल्क क्लिनिक प्लस उत्पादन गर्दै आएको गंगा सोप उद्योग र पाँच किसिमका सर्फ उत्पादन गर्दै आएको युनिक सोप बन्द गरिएको हो। यी दुई उद्योग बन्द गरेर भारतीय लगानी रहेको आरएम केमिकल उद्योग खोलिएको छ।

युनिलिभरले उद्योग बन्द गर्दा उद्योगी र मजदुरलाई क्षतिपूर्ति उपलब्ध नगराएको भन्दै नेपाली उद्योगी र मजदुर आन्दोलित छन्। ‘हाम्रो उद्योगको सम्झौता नवीकरण पनि गरिएन, उत्पादन भएको सामानको पैसा पनि दिएको छैन’, गंगा सोपका सञ्चालक इन्द्र बानियाँले भने, ‘तर भारतीय लगानी रहेको सहायक उद्योग खोलिएको छ।’ नेपाल सरकारले तोकेको श्रमिकको न्यूनतम पारि श्रमिक र सीबीए लागू गर्न नसक्ने भनेको युनिलिभरले भारतीय लगानीमा रहेको सहायक उद्योगमा भने सबै विषय लागू गरेको बानियाँको दाबी छ।

गंगा सोप एक महिनादेखि बन्द छ। उद्योगमा उत्पादित कच्चा पदार्थ युनिलिभरले लिएको छैन भने उद्योग बन्द गरेपछि मजदुरलाई क्षतिपूर्तिस्वरूप दिनुपर्ने रकम पनि युनिलिभरले नदिएको सञ्चालक बानियाँले बताए। उनका अनुसार गंगा सोपले दुई करोड रुपैयाँ युनिलिभरसँग लिन बाँकी छ।

युनिक सोप एन्ड केमिकल इन्डस्ट्रिज आठ महिनाअघि नै बन्द भइसकेको छ। उक्त उद्योगमा एक सय २३ जना कामदार कार्यरत थिए। युनिलिभरले क्षतिपूर्ति नदिएपछि उद्योगले करिब डेढ करोड रुपैयाँ मजदुरलाई क्षतिपूर्ति दिनुपरेको सञ्चालक नवराज अर्यालले बताए।