७ कार्तिक २०८३, शनिबार

खसीको मासुमा किलोकै २०० वृद्धि, तेल–दाल प्रतिकिलो १०, चामल ५० रुपैयाँ वृद्धि

39.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । खसीको मासुको भाउ प्रतिकिलो दुई सय रुपैयाँ बढेको छ । चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले भारतबाट नियमित खसी ल्याउन नपाउँदा उपत्यकामा मागअनुसार आपूर्ति गर्न नसकिएको बताए ।

‘भन्सार नाकाबाट भारतीय खसी ल्याउन सकिएको छैन । उपत्यकाको मागलाई धान्न व्यवसायीहरू गाउँगाउँ गएर खसी ल्याउँदैछन् । त्यसैले केही लागत बढ्न गएको देखिन्छ,’ उनले भने । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

जिउँदो खसीको भाउ प्रतिकिलो छ सयबाट बढेर छ सय ५० रुपैयाँसम्म पुगेको उनले बताए । तर, एक महिनाअघि एक हजार ५० रुपैयाँ प्रतिकिलोसम्म रहेको खसीको मासुको भाउ अहिले एक हजार दुई सय ५० पुगिसकेको छ ।

उपत्यकामा प्रतिसाता भारतीयसहित २५ गाडी (६ हजार २ सय ५०) खसीबोका भित्रिने गरेका थिए । ‘कडाइ गरिएपछि समग्रमा झण्डै ५० प्रतिशतले खसीबोकाको आयात घटेको छ,’ पाठकले भने, ‘अवैध रुपमा भारतबाट खसीबोका आइरहेका छन् तर त्यसको तथ्यांक छैन ।’

सरकारले महिना दिन अघिबाट खान योग्य भएको प्रमाणपत्र लिएर मात्र भारतीय खसी आयात गर्न परिपत्र जारी गरेको थियो । तर, भारतीय व्यवसायी र भन्सार कार्यालयले यस्तो प्रमाणपत्र नदिएपछि आयात रोकिएको हो ।

चामल, दाल, तेललगायत खाद्यपदार्थको मूल्य पनि बढेको छ । थोक व्यवसायी देभेन्द्रभक्त प्रधानका अनुसार भारतबाटै चामलको भाउ बढेर आएको छ । ‘अहिले २५ किलो चामलको भाउ ५० रुपैयाँले बढेको छ,’ उनले भने ।

दाल प्रतिकिलो १० रुपैयाँसम्म वृद्धि भएको छ । दाल आयात हुने प्रमुख देश बर्माबाटै मूल्य बढेर आएको उनको दाबी छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो समय किराना पसलबाट बढी बिक्री हुने चामल, दाल, चिनी, तेललगायतको मूल्य आकासिन थालेको छ ।

उनका अनुसार ९० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो दाल एक सय पुगेको छ । मासको दाल एक सय १० बाट एक सय २० र ठूलो खालको मासको दाल र रहर दाल एक सय ३० बाट १४० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

खुद्रा व्यापार संघका अनुसार जिरा मसिनो (लोकल) चामल ३३ सय प्रतिबोराबाट बढेर ३३ सय ५० पुगेको छ । सोना मन्सुली (सामान्य) १४ सय प्रतिबोराबाट बढेर १४ सय ५० पुगेको छ । खानेतेल प्रतिलिटर १० रुपैयाँ बढेको छ ।

सूर्यमुखी तेल एक सय ४० बाट एक सय ५० रुपैयाँ पुगेको श्रेष्ठले बताए । ७५ रुपैयाँ प्रतिकिलोमा पाइरहेको चिनी ८० पुगिसकेको छ । भाउ बढ्नुको मनासिब कारण नदेखिएको उनको भनाइ छ । ‘हामीले मूल्य किन बढ्यो भनेर सोधीखोजी गर्दा आयात मूल्य नै बढेको छ भनेर थोक बिक्रेताले बताउने गरेका छन्,’ उनले भने ।