आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

मासु खाए ५० हजार जरिबाना, सुराक दिए १५ हजार इनाम

दैनिक नेपाल २०७६ जेठ ५ गते ६:४०

गोरखा, ५ जेठ । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ ।  अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए ।

उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिनेछ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत पत्राचार गरिएको छ’, उनले भने, ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यले पशुपन्छी किनबेच हुँदै–हुँदैन । छिमेकी वडाले पनि यसको देखासिकी गरून् भनेर पत्राचार गरेका हौं । यो नियमको गाउँपालिकाभरि प्रशंसा भएको छ ।’

चुमनुब्री–१ को सामागाउँ, २ को ल्हो, ४ को प्रोक, ५ को बिही, ६ को चुम्चेत र ७ को छेकम्पार गाउँ (पहिला सबै गाविस थिए) विगतदेखि काटमार निषेधित मानिन्छन् । तर, स्थानीय सरकारले नै प्रतिबन्ध लगाएको भने यो पहिलो वडा हो ।

पछिल्लो समय पर्यटकीय क्षेत्र भएकाले होटलमा बाहिरी गाउँका व्यवसायी आएर लुकिछिपी काटमार र मासुको व्यापार, व्यवसाय गर्न थालेपछि नियम बनाउनुपरेको नाम्रुङका लाक्पाडुन्डुप लामाले बताए । ती गाउँमा एकाध इसाईबाहेक सबै बुद्ध धर्मावलम्बी बसोबास गर्छन् ।

उक्त क्षेत्रलाई हिंसामुक्त बनाउन मनास्लु संरक्षण क्षेत्र आयोजनाले पनि सघाएको छ । आयोजनाले सातवटै वडामा चोरी सिकारी निरुत्साहित गर्ने कार्यक्रम गर्दै आएको आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिए । उनका अनुसार अहिंसा अभियानलाई राष्ट्रियस्तरमै प्रचारप्रसार गर्न सहयोग गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित