मंगलबार, २८ असोज २०७६
DainikNepal.com
मंगलबार, २८ असोज २०७६

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक गाभिए, साउनबाट एकीकृत कारोबार हुने

दैनिक नेपाल २०७६ जेठ २ गते १८:४०

काठमाडाैँ, २ जेठ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज भएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा एनएमबिका तर्फबाट संचालक प्रदिपराज पाण्डे र ओमको तर्फबाट योगेन्द्र लाल प्रधानले हस्ताक्षर गरे । मर्जरको लागि स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गर्ने दुई बैंकबीच सहमति भएको छ । ३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकको लक्ष्य रहेको बैंकले जनाएको छ ।

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन्।

समझदारी पत्रमा सम्झौता गर्दै एमएमबिका संचालक पाण्डेले गण्डकी प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाउन ओमलाई उपयुक्त पार्टनरको रुपमा पाएको बताए । प्रदेश नम्बर ६ र ७ मा पनि उपस्थिति बढाउदै कृषिको लागि जोड दिने उनले बताए । बैंकको उपस्थिति कमजोर रहेको स्थानमा अन्य उपयुक्त पार्टनर पाएमा पुन: मर्जमा जाने संचालक पाण्डेले प्रष्ट पारे ।

ओमले यस अघि घोषणा गरेको १२.७० प्रतिशत लाभांश वितरण गरेर मात्र दुई बैंक मर्ज हुने भएका हुन् ।

यी दुई बैंक गाभिएपछि बन्ने एनएमबि बैंक निक्षेप र कर्जाका आधारमा वाणिज्य बैंकहरुको सूचिमा ७ औं स्थानमा झर्ने छ भने नाफाका आधारमा नवौं स्थानमा पर्ने छ ।

हाल एनएमबि बैंक निक्षेपका आधारमा १३औं र कर्जा प्रवाहका आधारमा १२औं नम्बरमा छ । ओमलाई गाभेपछि एनएमबि निक्षेपमा ६ र कर्जामा ५ स्थानले बैंकको र्याङमा सुधार आउने भएको छ ।

मर्जरपश्चात बैंकको कूल पुँजी तथा जगेडा कोष २० अर्ब ४२ करोड, निक्षेप १ खर्ब १९ अर्ब १३ करोड र कर्जा १ खर्ब १० अर्ब रुपैयाँ पुग्नेछ ।

हाल एनएमबि बैंकको निक्षेप ९३ अर्ब ९६ करोड रुपैयाँ छ भने कर्जा ८७ अर्ब २ करोड रुपैयाँ रहेको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको निक्षेप २४ अर्ब ७९ करोड र कर्जा २२ अर्ब ४९ करोड रुपैयाँ छ ।

त्यस्तै, ०७५ चैत मसान्तमा एनएमबिले गत वर्षको सोही अवधिको भन्दा १९ प्रतिशतले बढाउँदै १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ भने ओमले ३४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । मर्जरपछि बैंकको नाफा २ अर्ब पुग्नेछ ।

चैत मसान्तको वित्तीय विवरण अनुसार २ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने बैंक ८ वटा मात्रै भएकाले यो बैंक नाफाका आधारमा नवौं बन्ने देखिएको हो ।

हाल एनएमबिका ११० शाखा र ४ एक्सटेन्सन काउन्टर छन् भने ओमका ५३ शाखा र १ एक्सटेन्सन काउन्टर छन् । मर्जरपछि १६३ शाखा र ५ एकसटेन्सन काउन्टर हुने छन् ।

त्यस्तै, हाल एनएमबिका १०१ एटीएम र ओमका १९ एटीएम छन् । मर्जरपछि एटीएमको संख्या १२० पुग्नेछ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २२ पैसा रहेको छ ।

प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा रहेको ओमको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ । मर्जरसम्बन्धी सम्झौतापत्रमा एनएमबिका तर्फबाट सञ्चालक प्रदिपराज पाण्डे र ओमका तर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरे ।

एनएमबि बैंकका सीईओ केसीले अगामी साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने लक्ष्य रहेको जानकारी दिए । एनएमबि बैंकले यसअघि पनि धेरैवटा संस्थालाई गाभेको र राम्रो इफिसिएन्सी देखाएर प्रमाणित गरेको उदाहारण दिँदै सीईओ केसीले ओमसँगको मर्जरमा कुनैपनि समस्या आई नपर्ने जिकिर गरे ।

कर्मचारी समायोजन र सेयर आदानप्रदान रेसियोमा कुरा मिलिसकेको उनले जानकारी दिए ।  ओम डेभलपमेन्ट बैंकका सीईओ विश्वमोहन अधिकारीले मर्जर सफल बनाउन आफूहरु अहोरात्र खट्ने प्रतिवद्धता जनाए । यसअघि प्राइम बैंकसँग एक्विजिसन प्रक्रियामा रहेको ओमले गत बैशाख महिनामा प्रक्रिया तोडेर एनएमबिसँग मर्जरको सम्झौता गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित