शनिबार, ४ साउन २०७६
DainikNepal.com
शनिबार, ४ साउन २०७६

नेकपा पोलिटब्युरो सदस्यको नाम तयार, सूचीमा नयाँ अनुहार पनि

दैनिक नेपाल २०७६ जेठ २ गते ७:३४

काठमाडौं, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आठ जनवर्गीय संगठनको नेतृत्व बाँडफाँड टुंगो लागेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

साबिक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने गरी नेतृत्व टुंगो लागेको हो । जनसंगठनको नेतृत्व बाँडफाँडमा सहमति जुटे पनि संयोजक र सहसंयोजकको मोडलमा जाने कि अध्यक्ष र सचिवको मोडलमा जाने विषयमा अन्तिम टुंगो लागेको छैन । साबिक अध्यक्षमध्येबाटै नेतृत्व बनाउने कि केही संगठनका अध्यक्षलाई बिदा गरेर नयाँ अध्यक्ष बनाउने भन्नेबारे सहमति हुन बाँकी रहेको उच्च स्रोतले जनायो ।

पूर्वएमालेको भागबन्डामा परेको विद्यार्थी संगठन अनेरास्ववियुमा नवीना लामा र ऐन महरमध्ये अध्यक्ष ओलीले महरको नाम अघि सारेका छन् । तर, उपाध्यक्ष रश्मि आचार्यसहित अरू पनि दाबेदार रहेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले व्यक्तिभन्दा पनि विधिमा आधारित भएर टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले युवा संगठनमा रामप्रसाद सापकोटालाई संयोजकका रूपमा अघि सारेका छन् । मजदुरमा पूर्वएमालेले विनोद श्रेष्ठ, माओवादीले महेश्वर दाहालको नाम अघि सारेको छ ।

महिला संगठनमा अध्यक्ष प्रचण्डले उर्मिला अर्यालको नाम अघि सारेपछि प्रधानमन्त्री केपी ओलीले विकल्पमा अर्को व्यक्ति अघि सार्न दबाब दिएका छन् ।इन्जिनियर, मानवअधिकार र कानुन क्षेत्रका जनसंगठनको भने यसअघि नै एकता भइसकेको छ । इन्जिनियरको जनवर्गीय संगठन संयोजकमा शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा हरि पराजुली चयन भएका छन् । श्रेष्ठ पूर्वएमाले र पराजुली पूर्वमाओवादीनिकट हुन् । त्यस्तै, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल सर्वसम्मत भएका छन् । शाही तत्कालीन एमालेनिकट हुन् भने पोखरेल माओवादीनिकट । यस्तै, नेपाल कानुन व्यवसायी संगठन संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेलको नाम सिफारिस भएको छ । नेपाल तत्कालीन एमालेनिकट र पोखरेल माओवादीनिकट हुन् ।

जनसांस्कृतिक महासंघ, मधेसी संगठन, मुस्लिम संगठन, दलित संगठन, भूतपूर्व सैनिक संगठन, खेलकुद संगठन, सुकुमबासी संगठन, उद्योग व्यवसायी संगठन, बुद्धिजीवी, कर्मचारी संगठनमा नेतृत्व टुंगिन बाँकी छ ।

शीर्ष नेताबीच घोचपेच

नेकपाका शीर्ष नेताहरू पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्ट देखिएका छन् । युवा संघ नेपालको २९औँ स्थापना दिवस कार्यक्रममा बुधबार शीर्ष नेताहरूले नै पार्टीले वैचारिक र संगठनात्मक हिसाबले लय समात्न नसकेको मात्र समीक्षा गरेनन्, दुई लाइन संघर्ष अघि बढ्न लागेको संकेतसमेत गरे ।

सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी ठूलो भए पनि वैचारिक रूपमा स्पष्ट नभएसम्म विघटनको खतरा रहेको बताए । तत्कालीन सोभियत संघमा क्रान्तिपछि कम्युनिस्ट सत्ता तासको महलझैँ ढलेको दृष्टान्त प्रस्तुत गर्दै उनले सैद्धान्तिक र वैचारिक कार्यदिशासँगै संगठन सञ्चालनको विधि प्रस्ट गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

जवाफमा अध्यक्ष प्रचण्डले पार्टीभित्र जहिले पनि दुई लाइन संघर्ष हुने भन्दै अहिले पनि समाजवादअनुकूल वैचारिक–राजनीतिक कार्यदिशाअनुसार संगठन परिचालन गर्ने कि बनिबनाउ (रेडिमेड) विचार र कार्यदिशाअनुरूप अघि बढ्ने भन्ने प्रवृत्ति देखा परेको बताए । उनले दुई लाइनमध्ये गम्भीर चिन्तन–मनन र विमर्श गरेर सही लाइनका पक्षमा लाग्न युवाहरूको ध्यानाकर्षण पनि गराए । पार्टीभित्र दक्षिणपन्थी जड, वर्ग समन्वयवाद र बुर्जुवा आचरण तथा वामपन्थी जड देखिएको भन्दै आफू जहिले पनि निरन्तरतामा क्रमभंगताको पक्षमा रहेको र पार्टी एकता पनि त्यसैको परिणाम भएको बताए ।

वरिष्ठ नेता माधव नेपालले पार्टीभित्र सिद्धान्तलाई गहिरिएर अध्ययन गर्ने, चिन्तन–मनन र विश्लेषणका आधारमा अघि बढ्ने प्रवृत्ति कमजोर बनेको तर्क गरे । यी सबै पक्षलाई मनन गरेर सिद्धान्तलाई आचरण र व्यवहारमा उतार्दै कम्युनिस्ट आन्दोलनको सच्चा उत्तराधिकारी बन्न युवाहरूको ध्यानाकर्षण गरे । अर्का वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेलले बदलिएको कार्यदिशाअनुसार युवा आन्दोलनको कार्यभार पूरा गर्न ध्यानाकर्षण गराए ।

प्रचण्ड भन्छन्– ३ जेठमा टुंगिएन भने टेन्सन नलिनुहोला

एकता टुंगिन्छ, टुंगिसक्यो भन्दा पनि हुन्छ । जिल्ला कमिटी टुंगिएको प्रज्ञा–भवनको कार्यक्रममा मैले फलामे ढोका त उघ्रियो, अब अरू सरर जान्छ भनेको थिएँ । तर, धेरै हल्ला भएको दिन जान्छ कि एक–दुई दिन अघिपछि हुन्छ, म केही भन्न सक्दिनँ । पोहोर हल्ला नभएको दिन मदन–आश्रित स्मृति दिवसमा एकता घोषणा भयो । अहिले पनि ३ गते नै गर्ने कोसिस छ । भएन भने टेन्सन नलिनुहोला । ४, ५ या ६ गते होला, केही फरक पर्दैन, टुंगिन्छ । तपाईं युवाहरूले जोड गर्नुभो भने युवाको चाहिँ ३ गते नै सक्न सकिन्छ । प्रधानमन्त्रीसँग बिहीबार बैठक हुन्छ । जनसंगठन जति सकिदिऊँ, ३ गते घोषणा गर्दा तपाईंहरू पनि खुसी हुने भएकाले मेरो जोड त्यतातिर हुन्छ ।

तत्कालीन एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने

१४७ पोलिटब्युरोको सूची टुंगियो

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा एक सय ४७ सदस्यीय पोलिटब्युरो सदस्यको सूची तयार गरेका छन् । सचिवालय बैठकमा प्रस्ताव गर्ने गरी अध्यक्षद्वयले सूची टुंगो लगाएका हुन् । एक सय ४७ जनामा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ सदस्य छन् । तत्कालीन एमालेबाट २२ जना नयाँ अनुहार थपिएका छन् ।

तत्कालीन एमालेबाट

केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, किरण गुरुङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, विष्णु रिमाल, युवराज ज्ञवाली, रघुजी पन्त, रघुवीर महासेठ, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, सुवास नेम्वाङ, अरुण नेपाल, काशिनाथ अधिकारी, गंगालाल तुलाधर, थममाया थापा, नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, परशु मेघी गुरुङ, पशुपति चौलागाईं, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यामलाल कँडेल, राधा ज्ञवाली, रामप्रीत पासवान, लालबाबु पण्डित, विजय पौडेल, श्रीमाया थकाली, कर्ण थापा, गोकुल घर्ती, गोरखबहादुर बोगटी, गौरा प्रसाईं कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, दलबहादुर राना, डा. वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, शत्रुधन महतो, शेरधन राई, राजेन्द्र पाण्डे ।

नयाँ अनुहार

केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, घनेन्द्र बस्नेत, देवराज घिमिरे, खगराज अधिकारी, धर्मनाथप्रसाद साह, गुरु बराल, नरेश खरेल, भानुभक्त जैशी, विजय सुब्बा, शेरबहादुर तामाङ, बैजनाथ चौधरी, केशवलाल श्रेष्ठ, सुशीला नेपाल, जयन्ती राई, कल्याणी खड्का, गरिमा शाह, चूडामणि जंगली, नजिर मिया, जीवनराम श्रेष्ठ, रामचन्द्र यादव र गौरी ओली ।

तत्कालीन माओवादीबाट

पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, गणेश शाह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, मणि थापा, हितमान शाक्य, कुलप्रसाद केसी, जयपुरी घर्ती, दीननाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, ओनसरी घर्ती, प्रभु साह, प्रह्लाद बुढाथोकी, सुनील मानन्धर, सुरेन्द्र कार्की, जोखबहादुर महरा, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोका, झक्कु सुवेदी, हरिराज अधिकारी, सुरेशकुमार राई, शशि श्रेष्ठ, डिआर पौडेल, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, टेकबहादुर बस्नेत, खगराज भट्ट, महेश्वर गहतराज, अञ्जना बिसंखे, राजु खड्का, कृष्णध्वज खड्का, श्रवण यादव, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, अमृता थापा, सूर्यप्रसाद सुवेदी, सावित्रीकुमार काफ्ले, महेश्वर दाहाल, रामचन्द्र झा, दिलीप प्रजापति, श्रीराम ढकाल, महेन्द्र पासवान, अजम्मर काङवाङ र सुरेश आलेमगर ।

प्रतिक्रिया
सम्बन्धित