मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

नेपाल टेलिकमले चितवनमा सुरु गर्‍यो एफटीटीएच सेवा

दैनिक नेपाल २०७६ वैशाख ३१ गते १७:३४

काठमाडौँ, ३१ बैशाख । नेपाल टेलिकमले चितवनको सौराहमा एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गरेको छ । मंगलबार संघीय सरकारका सञ्चार तथा सूूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सेवाको औपचारिक उद्घाटन गरे ।

दूरसञ्चार कार्यालय सौराहामा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।

मन्त्री बाँस्कोटाले यो वर्ष धेरै आयोजनाहरु कार्यान्वयनको क्रममा रहेकाले नेपाल टेलिकमका लागि समृद्धिको वर्ष हुने बताए । उनले सरकारको डिजिटल नेपालको लक्ष्यलाई साकार बनाउनका लागि कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र कम नाफा हुने स्थानमा समेत कम्पनीका सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारको सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक आदि क्षेत्रका नीतिलाई साकार बनाउन कम्पनीले पहल गरिरहेको र आगामी दिनमा समेत यो क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पु¥याउनका लागि सदैव अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सभा सदस्य कृष्ण खनालले प्रविधिलाई जनतासँग जोड्न टेलिकमले खेलेको भूमिकाको स्रहाना गरे भने रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले सेवा सुविधा चुस्त दुरुस्त रुपमा प्रदान गर्न अनुरोध गरे ।

नेपाल टेलिकम, वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवालाई चुस्त दुरुस्त रुपमा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत मटुक आनन्द वैद्य लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो ।

सौराहामा हाल जडित एफटीटीएचको क्षमता १ हजार २४ लाइनको रहेको छ । निकट भविष्यमा आवश्यकता बमोजिम क्षमता अभिवृद्धि गरी वितरण गर्ने टेलिकमले जनाएको छ । हाललाई यो सुविधा सौराहाको हात्तिचोकदेखि ठमेल बजार क्षेत्रसम्म, भरतपुर महानगरपालिका अन्तर्गत वडा नम्बर २ र ३ को नारायणगढ बजार क्षेत्र तथा वडा नम्बर १० का क्षेत्रहरुमा उपलब्ध गराइने छ ।

यस्तै, बछ्यौली र ब्रिडिङ सेन्टरमा एक महिनाभित्र उपलब्ध गराइने छ । निकट भविष्यमा भरतपुर महानगरपालिका वडा नम्बर ११ र १२, गैँडाकोट नगरपालिका र टाँडी बजार क्षेत्रमा समेत एफटीटीएच सेवा उपलब्ध गराउने योजना रहेको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख दीपक कुमारले जानकारी दिए ।

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । व्यक्तिगततर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । त्यसैगरी कर्पोरेटतर्फ १० एमबीपीएस र २० एमबीपीएसको प्याकेज उपलब्ध छन् ।

एफटीटीएच सेवा लिने ग्राहकहरुलाई एक सय मिटरसम्म फाइबर र ३ महिनाको लागि भ्वाइस सेवा समेत निःशुल्क उपलब्ध हुनेछ । त्यसैगरी ३ महिना वा सो भन्दा बढी अवधिको लागि एकमुष्ट एफटीटीएच सेवा लिने सेवाग्राहीलाई सीपीई निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले मुलुकका विभिन्न शहरी क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरण गरिरहेको छ ।

कम्पनीको एप ‘नेपाल टेलिकम’ र वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित