
काठमाडौँ, २९ बैशाख । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजनामा अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
शुक्रबार र शनिबार गरी दुई दिन सम्मेलन चलेको थियो । पाँचौ ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा धुलिखेलस्थित काठमाडौँ विश्व विद्यालयको हलमा आयोजना भएको सम्मेलनको दोस्रो दिन शनिबार सांसद डा. डिला संग्रौलाले मुख्य वक्ताको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै सफलताको शुभकामना दिएकी थिइन् ।
त्यसैगरी, एसएई इन्डियाका कोषाध्यक्ष कमल किशोर छगनलाल भोराले सेफ, स्मार्ट एन्ड सस्टेनेबल मोबिलिटी शीर्षकमा, नासाका महासचिव गोविन्द भट्टराईले पाँचौ ग्लोबल रोड सेफ्टी विकको बारे, ई. प्रेम लामाले वर्कसप व्यवस्थापन बारे, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटोल्यान्ड शिर्षकमा कार्यपत्र प्रस्तुत गरे ।
नेपाल मोटरसाइकल फेडरेसनका सचिव सन्तोष न्यौपानेले इन्टरनेसनल ड्राइभिङ परमिट शीर्षकमा, काठमाडौँ विश्वविद्यालयका छात्र रमन सिलवालले प्यासेन्जर कारमा स्पेस कुलिङको सम्भावना बारेमा र सीटीईभीटीकी प्रतिनिधि इन्जिनियर निशी श्रेष्ठले अटोमोटिभ एजुकेसन सम्बन्धी शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कन्फ्रेन्समा आईएई नेपालका महासचिव बासुदेव तिमिल्सिनाले ७ बुँदे घोषणापत्रका साथ कार्यक्रमलाई समापन गरेका थिए । १५० जनाको सहभागिता रहेको दुई दिने सम्मेलनको पहिलो दिन हिजो कुल १० वटा कार्यपत्र प्रस्तुत भएका थिए ।
अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कार्यक्रमको उदघाटन गरेका थिए । नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका अध्यक्ष अशोक ब्यन्जु श्रेठले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
एसएई इन्डियाका कोषाध्यक्ष कमलकिशोर छगनलाल भोरा, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, नासाका महासचिव गोविन्द भट्टराई, पूर्वमन्त्री गणेश साह, काठमाडौँ विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. ड्यानियल तुलाधर तथा सफल उद्यमी कपिल शिवाकोटी किनोट स्पिकरको रुपमा सहभागी भएका थिए ।
यातायात व्यवस्था विभागका बरिष्ठ इन्जिनियर रामचन्द्र पौडेल, आईएई नेपालका महासचिव बाशुदेव तिमिल्सिना, दीगोका प्रतिनिधि अस्मित बजगाईं, इलेक्ट्रिक भेइकल एसोसिएसनका अध्यक्ष उमेश श्रेष्ठ र अन्तर्राष्ट्रिय पेशागत स्वास्थ्य संगठनका सदस्य युबराज भट्टले अतिथि वक्ताको रुपमा प्रस्तुति गरेका थिए ।
कार्यक्रममा एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स (एएमईएस) काठमाडौं विश्वविद्यालय, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको पनि साथ रहेको आईएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मधुसुदन सिग्देलले जानकारी दिए ।
गैरनाफामूलक कार्यक्रममा हिट्को लगायत विभिन्न अटोमोबाइल कम्पनी, लुब्रिकेन्ट कम्पनी, इन्स्योरेन्स कम्पनीको पनि सहयोग रहेको थियो ।















प्रतिक्रिया