काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा जस्तो व्यक्तिले सार्वजनिक अभिव्यक्ति दिँदा बिचार गरेर मात्रै दिनुपर्ने बताएका छन् ।
कांग्रेस नेता खतिवडाले दैनिक नेपाल डटकमसँग शुक्रबार बिहान कुरा गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री बास्कोटासँग सरकारको सबै दायित्व जोडिएको हुने बताए ।
‘गोकुल बास्कोटाको पद अरु मन्त्रीहरूको जस्तो चनाचुने होइन’, उनले भने, ‘मन्त्रीजीले बोलेका कुरा सरकारको आधिकारिक धारणा हुन्छ । उहाँ जस्तो व्यक्तिले ‘जय नेपाल’ शब्दका विषयमा दिनुभएको धारणा उचित होइन । इतिहाँस बुझ्नुपर्छ ।’
सञ्चारमन्त्री बास्कोटाले ‘जय नेपाल राजा महेन्द्रले ‘कू’ गर्दा बोेलेको अन्तिम बाक्य’ भनेपछि कांग्रेसका शुभेच्छुक र नेताहरूले अलोचना गर्दै आएका छन् ।
खतिवडाले मन्त्री बास्कोटालाई अध्ययनशील बन्न र ‘जय नेपाल’को सहि अर्थ लगाउन आग्रह गरेका छन् ।
नेपालमा प्रजातन्त्र स्थापनाको उद्देश्यले प्रजा परिषदले बिक्रम संवत १९९७ असार ९ गते राणा शासनको विरोधमा पर्चा छापेर काठमाडौंमा जताततै छरेको थियो ।
नेपालको इतिहासमा ‘पर्चा आन्दोलन’का रुपमा अंकित सोही आन्दोलनमा सहभागी भएबापत पचलीमा शुक्रराज शास्त्रीलाई र सिफलमा धर्मभक्त माथेमालाई झुण्डयाई मारिएको थियो ।
शोभा भगवती नजिकै दशरथ चन्द ठकुरी र गंगालाल श्रेष्ठलाई एकै ठाँउमा गोली ठोकेर मारिएको थियो । यी महान शहीदहरूले मर्नुअघि उच्चारण गरेको शब्द हो, ‘जय नेपाल’ ।
नेपालका राष्ट्रिय गानमा समेत ‘जय नेपाल’ शब्द जोडिएको छ ।















प्रतिक्रिया