आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

पारस र सन्दिप गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण अभियानकोे सद्भावना दूत

दिपक बिष्टको संयोजनमा रङ्गशाला निर्माणका लागि खेलकुद समिति गठन

दैनिक नेपाल २०७६ वैशाख २६ गते १७:२०

काठमाडौँ, २६ बैशाख । धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन गरिएको छ ।

तेक्वान्दो खेलाडी दिपक बिष्टको संयोजनमा फाउण्डेशनको कार्यालयमा १३ सदस्य समिति गठन गरिएको हो । यस्तै, ४ सदस्य सल्लाहकार समिति र सम्पूर्ण खेलकुदसँग सम्बन्धित संघसंस्थाका अध्यक्षहरु पदेन सल्लाहकार रहने गरी समिति गठन भएको छ ।

सल्लाहकारहरुमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, नेपाली फुटवलका पूर्वकप्तान राजु शाक्य, नेपाल क्रिकेट संघका पूर्वसीईओ भावना घिमिरे र राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक समेत रहेका जगत टमाटा रहेका छन् ।

त्यसका साथै यो अभियानको सद्भावना दूतका रुपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय खेलाडी सन्दिप लामिछाने रहेका छन् ।

देशैभरी रङ्गशाला निर्माणको अभियान चलिरहेका बेला खेलाडीहरुको समेत उपस्थिति रहने गरी समिति गठन गरिएको फाउण्डेशनले जनाएको छ । समितिमा देशका चर्चित तथा अनुभवी खेलाडीहरु र संघसंस्था समावेश गरिएको संयोजक बिष्टले जानकारी दिए ।

खेलकुद समितिमा हरि खड्का (फुटवल), संगिना बैध (तेक्वान्दो), भरत शाह (भलिवल), बिनोद दास (क्रिकेट), गौरिका सिंह (पौडी), दिपक श्रेष्ठ (कराँते), रुबिना क्षेत्री (क्रिकेट), सरस्वती चौधरी (भलिवल), दिपक महर्जन (बक्सिङ), महेश्वर महर्जन (वडि विल्डिङ), शावित्री भण्डारी ‘साम्बा’ (फुटवल), अनिल गुरुङ (फुटवल) र छुम्बी लामा लगायतको समिति रहेको संयोजक बिष्टले बताए ।

समितिले रंगशाला निर्माणका लागि देश बिदेशमा बिभिन्न आर्थिक संकलनका अभियानहरु संचालन गर्ने र सबै खेलाडीहरुलाई अपनत्व ग्रहण हुने गरी सहयोग गर्नेछ ।

‘धुर्मुस सुन्तली आफ्नो कार्यक्षेत्र छोडेर हाम्रा लागि स्टेडियम र खेलकुद हव बनाउन लाग्नुभएको छ, हामीले पनि हाम्रो तर्फबाट केही गर्न सकिन्छ र गरौं भन्ने हेतुले समिति गठन गरेका हौं’ संयोजक बिष्टले भने ‘यो समिति सक्रिय रुपमा बिभिन्न अभियान चलाउँदै अघि बढ्नेछ, बिभिन्न ठाउँबाट सबैले सहयोग र साथ दिनुहुनेछ भन्ने कुरामा आशावादी छौं ।’

अभियानका लागि निर्माण समिति, व्यवस्थापन समिति, आर्थिक समिति, प्राबिधिक समिति लगायत अन्य समितिहरु पनि गठन भइसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

‘खेलकुद समिति गठनले थप उर्जा मिलेको छ, सम्पूर्ण खेलाडीले अपनत्व ग्रहण गरी अभियानमा सक्रिय भएर लाग्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं’ अध्यक्ष कट्टेलले भने ‘यो समितिमा भोलिका दिनमा अझै अरु अनुभवी तथा विज्ञ खेलाडी र संघसंस्थाहरु पनि जोडिदै जानुहुनेछ भन्ने कुरामा आशावादी छौं ।’

प्रतिक्रिया
सम्बन्धित