
काठमाडाैँ, २३ बैशाख । आउँदाे चैत २८ गतेलाई प्रदर्शन मिति ताेकिएको प्रेमगीत-३ का लागि नयाँ हिरोइन आह्वान गरिएको छ । नयाँ अनुहारका लागि निर्माता सन्तोष सेनले अडिसन आह्वान गरेका हुन् ।
छेतेन गुरुङ र ‘प्रेमगीत’ सिरिजका निर्माता सेनले मिलेर निर्देशन गर्ने ‘प्रेमगीत ३’ मा नायक प्रदीप खड्का नै दाेहाेरिने लगभग पक्का छ ।
उनको अपोजिटका लागि भने अभिनेत्रीको टुंगो लागेको छैन । यद्यपि, निर्माण टिमले नीति शाहलाई अप्रोच गरेको थियो । तर, उनले तत्काल फिल्म नगर्ने घोषणा गरिसकेकी छन् ।
नीतिले प्रदीपसँग जोडी बाँध्न अस्वीकार गरेपछि निर्माता सेनले अब नयाँ अनुहार लिने भएका हुन् । सोमवार निर्माता सेनले जारी गरेको विज्ञप्तीमा १८ वर्ष भन्दामाथि र २५ वर्ष नपुगेका युवतीहरुले फिल्मको लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन दिन सक्ने उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘आउँदो जेठ १० गतेसम्ममा www.aasusenfilms.com मा गएर फारम भर्न सकिने वा [email protected] मा सम्पर्क गर्न सकिने छ ।’

सेनका अनुसार फिल्मको मुख्य अभिनेत्री हुन इच्छुकले हालै खिचिएको चारवटा स्पष्ट अनुहार देखिने तस्वीरसहित आफ्नो बायोडाटा पठाउनु पर्नेछ । उचाई ५.२ देखि ५.७ सम्म हुनुपर्ने सेनले उल्ले गरेका छन् ।
आवेदन आएको मध्येबाट उत्कृष्ट २० लाई फाइनल अडिसनका लागि छानिने र एक जनालाई अभिनेत्रीको रुपमा छनोट गरिने जारी विज्ञप्तीमा उल्लेख छ ।
यस फिल्मको कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ । फिल्मलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ । झण्डै एक वर्षदेखि फिल्मको स्क्रिप्टको काम भइरहेको र अबको दुई हप्तामा पूरा हुने निर्माता सेनले बताएका छन् ।















प्रतिक्रिया