
काठमाडाैँ, १५ बैशाख । एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपालले मलेसियालाई फाइनलमा ५९ रनले हरायो । गत संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
थाइल्याण्डको चियाङमाईमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३४ ओभर ५ बलमा अलआउट हुँदै ८१ रनमा समेटियो ।
मलेसियाको लागि वान महमद अजमले सर्वाधिक १६ रन बनाए । यस्तै महमद हाजिक आइमनले १८ र जिनेन्द्र मुरालेले १४ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नेपाली बलर सामु मलेसियाका खेलाडीहरु खुलेर खेल्न सकेनन् । मलेसियालाई सस्तैमा रोक्न नेपालका बिशाल कुमार पटेलले ४ विकेट हात पारे भने दीपक बिहोराले ३ विकेट हात पारे ।
नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउदै एक सय ४० रन बनाएको थियो । २० रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रनमा तीन विकेट झार्न पुग्यो । सुशान्त थापा ५ रनमा आउट भए भने आशिष भट्टराई दुई तथा दीपक बोहोरा २३ रनमा पेभेलियन फर्किए ।
कप्तान विशाल विक्रम केसी १७ रनमा आउट भएपछि नेपालले ६८ रनमा चार विकेट खेर फाल्यो । पाँचौ विकेटका लागि रोहन दुधराज विक र प्रशान्त महतले नेपालका पारीलाई सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन् । रोहन नौ रनमा आउट भए ।
विशालकुमार पटेल दुई रनमा आउट भए भने प्रशान्त महत ४० रनमा पेभेलियन फर्किएपछि नेपालले एक सय ६ रनमा सात विकेट गुमायो ।
त्यसपछि नेपालको स्कोर एक सय २२ रन हुँदा आठौं विकेट झर्यो । क्रिस कार्की नौ रनमा आउट भए भने निखिल कुमार सिंह १३ रनमा पेभेलियन फर्किए । जसका कारण नेपालले एक सय ३१ मा नौ विकेट खेर फाल्यो । अन्तत: नेपालले एक सय ४१ रनकाे लक्ष्य दियाे ।
जवाफमा मलेसिया ३४ ओभर ५ बलमा ८१ रनमा रोकियो ।















प्रतिक्रिया