४ कार्तिक २०८३, बुधबार

खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकबाट अनुमति प्रदान

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ बैशाख । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।

डिजिटल भुक्तानीका साथै अब खल्तीमार्फत आन्तरिक मनि ट्रान्सफर र अन्य विभिन्न किसिमका मोबाइल वित्तीय सेवाहरू पनि उपलब्ध हुनेछन् । नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । सुरुवातदेखि नै खल्ती नविनतम् प्रविधि तथा सेवामार्फत मानिसको जीवन सहज बनाउन केन्द्रीत रहेको छ ।

राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाइसेन्स प्राप्त गरेपछि डिजिटल माध्यमबाट प्रदान गरिने सेवालाई अर्को तहमा पुर्याउन यस कम्पनी थप उत्प्रेरित बनेको छ । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाइन प्रविधिमा ल्याउन खल्तीको ध्यान केन्द्रीत हुनेछ ।

खल्तीले राष्ट्र बैंकबाट अनुमतीप्राप्त गरेको अवसरमा खुशी व्यक्त गर्दै कम्पनीका प्रबन्ध निर्देशक मनिष मोदीले भने ‘डजिटल भुक्तानी नेपालमा भर्खरै सुरु भएको नयाँ प्रविधि हो । अझै पनि ग्रामीण भेगमा बिजुलीको महसुल तिर्ने जस्ता सामान्य कार्यको लागि सयौँ रुपैयाँ र पूरा दिन खर्च गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त भुक्तानी सेवा प्रदायकको यस आधिकारिक लाइसेन्सले हामीलाई अझै तीब्र रफ्तारका साथ डिजिटल भुक्तानी सेवालाई देशैभर विस्तार गर्न उत्साह प्रदान गरेको छ ।’

उनले आफूहरु अब देशका हरेक कुना काप्चाबाट सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न ‘डिजिटल नेपाल, समृद्धिको महाअभियान’ भन्ने नाराका साथ भरपूर प्रयास गर्ने बताए । बैंकिङ पहुँचमा नरहेको दूरदराजको जनसंख्यालाई समेत वित्तीय सेवा प्रदान गर्ने र उनीहरुको जीवन सरल बनाउने पनि आफ्नो उद्देश्य रहने बताए ।

खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्न सकिन्छ ।

इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिने कम्पनीले जनाएको छ । साथै, खल्ती एप प्रयोग गरी साना–ठूला खुद्रा पसलमा क्यु–आर कोड मार्फत मोबाइलबाटै पैसा तिर्न सकिने जनाएको छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ ।