मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

‘तानाशाहहरू’ साधारण परिवारबाटै उदाउँछन्

विनोद ढकाल २०७६ वैशाख १० गते १२:५४

-विनोद ढकाल

प्रवित्ति र व्यवाहारमा जब लोकतन्त्रवादी चरित्र ह्रास हुन्छ र मैमत्तासहितको शासक बन्ने कालो मनसाय हावी हुन्छ, नेता, नेता रहँदैन, तानाशाह बन्छ । सुरुमै भनौं, संसारका धेरै तानाशाहहरू साधारण, अति निम्न, निमुखा परिवारबाट उदाएको व्यक्ति नै थिए । जसले प्रजातान्त्रिक मुल्य मान्यता स्वतन्त्रता र प्राधिकारको अपहरण गरिदिए । नेपालको अहिलेको सत्ता सन्दर्भमा कस–कसको अनुहारमा यो बिम्ब देखियो ? देखिँदैछ ? यो पाठक आफैंले मुल्यांकन गर्नेछन्, यो आलेख पढेपछि ।

‘तानाशाह’, शव्दकोषलाई मान्ने हो भने– एउटा यस्तो शासक हुन्छ जो कुनै वंशानुगत उद्गम बिनै कुनै मुलुकको एकमात्र शासक हुनुका साथै सबै राष्ट्रिय शक्ति (सैन्य शक्तिसहित कुनै कुनै ठाउँमा)को प्रमूख हुन्छ ।

यो अर्थको अभ्यासमा नेपाली राजनीतिमा कुनचाहिँ राजनीतिक दलका कुनचाहिँ नेताहरू कस्सिएका थिए, छन् र कस्सिने प्रयासमा छन् । विगतका केही बर्ष र अहिलेका अवस्थामा स्पष्ट चित्र दिमागमा कोरिन्छ नै । स्मरण होस्, नेपालमा एक सय ४ बर्षको जहानियाँ राणा शासनका शासकहरू पनि साधारण परिवारबाटै उदाएका थिए ।

जसलाई हामी ‘तानाशाह’को संज्ञामा चिच्याई चिच्याई गाली गर्छौं । बास्तवमा उनीहरू पारिवारिक सम्भ्रान्तपथका सुधारवादी नै हुन्छन् । जस्तो राजा अथवा सम्भ्रान्त परिवारबाट राजनीतिक जीवनमा जितेर सत्ता चलाउनेहरू । दुनियाँका अनेक शासकको इतिहासले त्यहि पुष्टि गर्छ । फ्रान्सलाई राष्ट्रवादी कित्तामा उभ्याउनका लागि नेपोलियन बोर्नापाटको शासनसत्ताको शैली फरक थियो होला । उनी तानाशाही थिएनन् तर सम्भ्रान्त परिवारका एक हिस्सेदार थिए । तर, जर्मनका एडोल्फ हिटलर र इटलीका बेनिटो मुसोलिनीको उदय र पतनबारे घोत्लिऔं त, एक पटक । यी कस्ता परिवारबाट आए र यीनले कस्ता उत्पात मच्चाए ? नेपाली कम्युनिस्टहरूको ओठमा झुन्डिने दुई शव्द हुन् ‘तानाशाही र फासीवादी’ व्यवस्था ।

त्यसैले यी दुई पात्रका केही रोचक र केही घोचक प्रसङगलाई यहाँ जोड्दै, हामी नेपालमा साधारण परिवारबाट उदाएको तानाशाहको बिजारोपण त गरिरहेका छैनौंं ? मलजल त गरिरहेका छैनौं भन्ने बहसमा केन्द्रित गर्दछु ।

लोकतान्त्रिक पद्दती भनेको तीन नेताको भागबन्डा होइन । त्यो तानाशाही मनोवृत्ती हो । पद्दती भनेको योग्यता, क्षमता र समताका आधारमा दिइने जिम्मेवारी हो

एलोइस हिटलरकी तेस्री श्रीमती क्लाराको कोखबाट जन्मिएका चौथो सन्तान थिए, एडोल्फ हिटलर । २० अप्रिल १८८९ मा अस्ट्रियामा जन्मिएका हिटलरले गरिबीकै कारण कहिल्यै राम्रो पढाइ गर्न पाएनन् । हिटलर बाल्यकालमा पादरी बन्ने सपना देख्थे । किनभने, चार वर्षको उमेर हुँदा एक पादरीले उनलाई पानीमा डुबेर मर्नबाट बचाएका थिए । त्यसो त उनका हजुरबुबा नै यहुदी थिए ।

सन् १९०५ मा पढाइ छाडेर उनी पेन्टिङतिर लागे । तर, उनलाई ‘स्कुल अफ आर्ट’ एवं अन्य आर्ट एकेडेमीमा प्रवेश गर्न दिइएन । त्यही वेलातिर उनकी बिरामी आमाको पनि मृत्यु भयो । आमालाई गाडिएको चिहानमा गएर उनी रुन्थे । आफू १८ वर्षको हुँदा आमाले पनि छाडेर जाने र स्कुल अफ आर्टबाट पनि तिरस्कृत भएपछि उनी अन्ततः राजनीतितर्फ लागेका थिए ।

प्रथम विश्वयुद्धमा ब्रिटिस सैनिकहरूले एक घाइते जर्मन सैनिकको ज्यान बक्सिस दिएका थिए । ती भाग्यमानी सैनिक अरू कोही नभएर हिटलर नै थिए । त्यसपछि उनले छानी–छानी यहुदीहरू सिध्याउन सुरु गरेका थिए । उनी यहुदीलाई सखाप पार्न चाहन्थे ।

यहुदीमाथि धेरै अत्याचार गर्ने हिटलरकी पहिली प्रेमिका यहुदी नै थिइन् । ‘भक्सवेगन बेटल कार’ बनाउने तरिका पनि उनले एक यहुदी इन्जिनियरबाटै चोरेका थिए ।

आधुनिक विश्वमा हिटलर नै यस्ता पहिला व्यक्ति थिए, जसले धुम्रपानविरोधी अभियान सुरु गरे । अर्को कुरा, मारकाटको राजनीति गरेका हिटलर मांसाहारी थिए होलान् भन्ने धेरैको अनुमान हुन सक्छ । तर, उनी शाकाहारी थिए । उनले पशु क्रुरताविरुद्ध कानुन पनि बनाएका थिए ।

हिटलरलाई ड्रग्सको लत बसेको थियो । उनी प्रत्येक दिन ८० प्रकारका ड्रग्स सेवन गर्थे । उनको स्वास्थ्य धेरै बिग्रेको थियो । हर समय शरीर काँप्ने गथ्र्यो । उनी आइड्रपमा पनि १० प्रतिशत कोकिन मिसाउँथे । उनी पेट फुल्ने समस्याबाट ग्रस्त थिए । यसबाट छुटकाराका लागि उनी २८ प्रकारका औषधि सेवन गर्थे ।

हिटलरका नीजि जीवनबाहेक उनले निम्त्याएको नरसंहार कति भयानक थियो । यसकारण उनलाई अन्य मुलुकले तानाशाही व्यवस्थाका पुत्ला मान्थे । उनको अन्त्य पनि दुखद भयो । आत्महत्या गर्न बाध्य हुनुपरेको थियो ।

कुनै नाम वा विचार लेखिएको सैद्धान्तिक चीना बोक्ने र व्यवाहार फरक देखाउने, लाद्ने, जबरजस्त पेल्ने नियत राख्ने तालमेल खाँदैन । नेपाली राजनीतिमा कुन–कुन व्यक्ति र नेताले आजभोली नै के–के निर्णय कसरी लिए भन्ने प्रष्ट खुलाउन पर्दैन ।

अर्का तानाशाह हुन्, बेनिटो मुसोलिनी । यी हिटलरभन्दा फरक थिएनन् । इटालीका नेता मुसोलिनीले राष्ट्रिय फासीवादी पार्टीको नेतृत्व गरे । फासीवादी दर्शनलाई जोगाउने मध्येका प्रमूख नेता थिए । २९ जुलाई, सन् १८८३ मा जन्मिएका यी तानाशाही नेता इटालीको साधारण प्रिदाप्यो भन्ने गाउँमा जन्मिएका थिए ।

१८ बर्ष पुगेपछि एउटा स्कुलको शिक्षक बने, १९ बर्षको उमेरमा भागेर स्वीट्जरल्यान्ड पुगे ।

सन् १९३५ मा अबिसिीनियामाथि उनले हमला गरेका कारण दोस्रो विश्वयुद्ध सुरु भएको पनि मानिन्छ । पराजय भएका कारण २५ जुलाई १९४३ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनासाथ पक्राउ गरियो । तर हिटलरको विचारसँग मिल्ने भएका कारण उसलाई हिटलरले छुटाए र उत्तरी इटालीको एउटा कठपुतली राज्यको प्रधानमन्त्री भए । मुसोलिनको अन्त्य पनि डरलाग्दो भयो । स्वीटजरल्यान्ड भाग्ने क्रममा पक्राउ गरिएका उनलाई २८ अप्रिल १९४५ मा मृत्युदण्ड दिइयो ।

यी दुवै तानाशाहका जबरजस्त समर्थक थिए । जस्तो आज उत्तर कोरियामा किम जोङ उनको जबरजस्त समर्थक रहेको प्रचारबाजी गरिन्छ । तानाशाहहरूले आफ्ना नजिक भनिएका विभिन्न ‘विङ’लाई प्रायोजित ढंगले पालेका हुन्छन् । तिनको काम उनको गुणगाण गाउने र विरोधी आवाजलाई दबाउनु हुन्छ ।

प्रधानमन्त्री र प्रचण्डको अनुहारमा जे देखिन्छन्

घोषित रूपमा मात्र तानाशाह हुँदैनन् । प्रवित्तिका आधारमा पनि हुन्छन् । नेकपाका नेता नारायणकाजी श्रेष्ठले आइतबार राती मात्रै आफ्ना पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिएछन्– तपाईहरू असल तानाशाह बन्न सक्नुहुन्छ । नेता बन्न सक्नु भएन ।

यो संवाद किन भयो ? प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्– लोकतन्त्र कसैले किस्तीमा दिएर ल्याएको होइन, लडेर ल्याएको । प्रचण्ड भन्छन्, परिवर्तन बचाउन र संस्थागत गर्ने बाटो हिँड्यौ । के परिवर्तन आफ्नै पार्टीभित्र ल्याएको रहेछ त ? लोकतान्त्रिक पद्दती, मुल्य र मान्यताको मानक बनिएको रहेछ त ? बन्दसूचीमा दुई सेनापति राखेर तयार पारिएको नामले कोही नेता हुन्छ, लोकतन्त्रमा ? यो तानाशाही प्रवित्तिको नमूना हो की होइन ? यसको जवाफ नेता श्रेष्ठले दिइसकेका छन् ।

ठाउँ–ठाउँका भाषणकारीता पढ्दा, हेर्दा वा सुन्दा आत्महत्या गरेका जर्मनका तानाशाह शासक एडोल्फ हिटलरको भनाई याद आउँछ– ठूलो झूठ बोल, यसलाई साधारण बनाऊ, यसलाई भनिराख र अन्त्यमा उनीहरूले पत्याउनेछन् ! यहि बाटोलाई आमसाधारणले पछ्याइदिनुपर्ने हो ?

लोकतान्त्रिक पद्दती भनेको तीन नेताको भागबन्डा होइन । त्यो तानाशाही मनोवृत्ती हो । पद्दती भनेको योग्यता, क्षमता र समताका आधारमा दिइने जिम्मेवारी हो । त्यो जिम्मेवारी ‘टप टु बटम’ होइन, ‘बटम टु टप’ हुनुपर्छ । अर्थात्, जिल्लाको नेता छान्ने जिम्मा ओली, प्रचण्ड, नेपाल अथवा अरुको हुनु हुँदैन थियो । त्यो साधारण सदस्यको हुनुपर्दछ । अथवा त्यो व्यवस्थाका लागि छानिएको हो भने पदीय जिम्मा तोक्ने होइन, त्यो जिम्मामा पुग्नका लागि अधिवेशन कमिटी भनेर तोक्नुपर्दछ ।

जबसम्म आन्तरिक लोकतन्त्र बलियो, पार्टीका गतिविधि पारदर्शी, आलोचना सुन्न सक्ने र त्यसलाई सुधार गर्ने हिम्मत र जाँगर देखाउन सकिँदैन, त्यसो हुँदा राज्यको नियन्त्रिक शक्तिको प्रयोग गरी सजाय दिलाउन उद्दत भइन्छ, त्यो तानाशाह चरित्रकै प्रयोग मान्नुपर्छ । र, यो चरित्र र प्रवित्ति शक्तिको केन्द्र भाग, सत्ताको केन्द्र भागमा पुगेपछि ओली र प्रचण्डमा देखिएकै छ, यसलाई कसैले नकार्न सक्तैन । हिजो, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, कमल थापालगायतमा पनि देखिएकै थियो । लोकतन्त्रमा यहि व्यवाहारिक सुधारको खोजी गरिन्छ । अन्यथा, लोकतन्त्र भन्न छाड्नपर्छ ।

कुनै राजनीतिक दलको गतिविधि, कुनै अखबारको समाचारीय विषय, कुनै आमुखले बोलेका आलोचनाविरुद्ध राज्यका ताकतको प्रयोग गरी दण्ड सजाय दिने व्यवस्था गरिन्छ भने त्यो तानाशाही प्रवित्तिको उपज हो । ग्यारेन्टिका साथ भन्न सकिन्छ, ओली–प्रचण्ड यहि प्रवित्तिको मनोगत अहंकार र आत्मरतीमा छन् । जसलाई निजी सेनामेना (कार्यकर्ता)को जयकार गानले उन्मत्त बनाएको छ । लोकतन्त्रमा त्यो हुँदैन ।

तानाशाही परिवारवाद, नातावाद, कृपावाद र जय–जयकार गाउनेका लागि अवसर सृजना गर्छ । कसका परिवारका सदस्य कहाँ छन्, कसका जयगान गाउने कुन अवसरको कुर्सीमा आशिन छ, सतहमा सबै आएकै छन् ।

ओली र प्रचण्ड अति साधारण परिवारबाट उठेका व्यक्ति हुन् । राजनीतिक जीवनमा हिटलर र मुसोलिनीजस्तै ‘बाल बाल’ जोगिएका पनि हुन् । ओलीलाई जेलमै प्रताडना दिने काम गरिएको थियो, प्रचण्डको त टाउकोको मुल्य नै तोकिएको थियो । तर युगले यी दुवैलाई एकै ठाउँ उभ्यायो, जनताले समर्थन पनि गरिदिए । तर के हामीले यी दुवैको अनुहारमा हिटलर र मुसोलिनीको बिम्ब देख्नुपर्ने हो ?

प्रधानमन्त्री केपी शर्मा ओली अथवा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ठाउँ–ठाउँका भाषणकारीता पढ्दा, हेर्दा वा सुन्दा आत्महत्या गरेका जर्मनका तानाशाह शासक एडोल्फ हिटलरको भनाई याद आउँछ– ठूलो झूठ बोल, यसलाई साधारण बनाऊ, यसलाई भनिराख र अन्त्यमा उनीहरूले पत्याउनेछन् ! यहि बाटोलाई आमसाधारणले पछ्याइदिनुपर्ने हो ?

हामीलाई हिटलर र मुसोलिनी चाहिएको छैन । साधारण गाउँबाट उठेको तानाशाह होइन, लोतन्त्रवादी, विचारको सम्मान गर्ने र लोकतन्त्रको अधिकतम प्रयोग गर्न दिने नेता चाहिएको छ । प्रेसमा अंकुश लगाउने, भ्रष्टाचारलाई ढाकछोप गरी बढोत्तरी गर्ने, नल नातालाई मात्र अवसर दिने, जयगान गाउनेलाई मात्र अवसरका च्वाइस् दिने झुपडीबाट उठेका प्रधानमन्त्री वा नेता चाहिएको छैन । हामीलाई हरेक मतको सम्मान गर्ने, हरेक विचारलाई समेट्ने, हरेक धर्म र संस्कृतिको बेजोड संरक्षण माया गर्ने, भ्रष्ट र भ्रष्टाचारीसँग टाढा बस्ने नेता चाहिएको छ । भोली, ओली र प्रचण्डहरूले एक छाक ढिँडो खाएको झुपडीको सम्मान गर्ने आजको नेपाल चाहिएको छ । के त्यो नेपाल दिनका लागि यीनिहरू सुध्रिन तयार हुन्छन् ? या सुधार्न सकिएला ? यसको जवाफ र विश्लेषणमा पाठक घोत्लिए राम्रो हुने थियो ।

प्रतिक्रिया
सम्बन्धित