सोमबार, ६ जेठ २०७६
DainikNepal.com
सोमबार, ६ जेठ २०७६

पहिला प्रचण्डकै ‘काख’, अहिले कडा–कडा जवाफ !

दैनिक नेपाल २०७६ वैशाख ९ गते १०:४३

काठमाडौं । ‘नाम नहोस्, बद्नाम होस् तर गुमनाम नहोस्’ अक्सर राजनीतिकर्मी र फिल्मकर्मीमा यो भनाई प्रख्यात छ । र, यहि तरिकाका अनेक व्यवाहार देखिने पनि गरेका छन् ।

नेपाली राजनीतिकर्मी र फिल्मकर्मीले यो शैलीको लयलाई समातेकै छन् । त्यसमध्येकी एक हुन् रेखा थापा । उनी ख्याती कमाएकी अभिनेत्री त हुन् नै अहिले राप्रपा संयुक्तकी नेत्री पनि हुन् ।

मिडियामा आउने भोक उनको कम हुने गरेको छैन । कहिले फिल्म, कहिले नीजि जीवन, कहिले दिवस र उत्सबका अनेक हर्कत त कहिले राजनीतिक बयानबाजी उनका माध्यम बनेका छन् ।

आजभोली थापा फिल्ममा व्यस्त छैनन् । राजनीतिक बयानबाजी र मिडियाबाजीमा उनले फड्को मारेकी छन् ।

कुनै बेला नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डकै दलको प्रचारमा नाच्दै गाउँदै हिँडेकी थापा अहिले प्रचण्डकै आलोचनामा शव्द खर्च गर्न व्यस्त छिन् ।

प्रचण्डले बम पड्काएर विप्लव कहिँ पनि नपुग्ने बताएको खबर आउनासाथ थापाले प्रचण्डमाथि झटारो हानिन्,‘तपाईले चाहीँ परेवा उडाएर क्रान्ति गर्नु भएको थियो ?’

माओवादी, राप्रपा र राप्रपा संयुक्तको यात्रा 

पहिलो संविधानसभा विघटन हुनु अघिदेखि राजनीतिमा आउने महत्वकांक्षामा थापाले तत्कालिन एमाओवादीको काखलाई स्वीकार गरिन् ।

प्रचण्ड नेतृत्वको सरकार गिरेको थियो, माधवकुमार नेपालको सरकारविरुद्ध माओवादीले गरेको आन्दोलनका क्रममा थापाले सहयोग गरेकी थिइन् ।

सिंहदरबार घेराउका क्रममा प्रचण्डसँग नाचेको प्रसङ्ग सदाबहार चर्चाको विषय बनिरहेको छ । त्यसलगत्तै बिराटनगरमा भएको सभामा पनि थापा माओवादीको आन्दोलनको समर्थन गर्दै प्रचारमा कुदेकी थिइन् ।

पहिलो संविधानसभा विघटन भएपछि दोस्रोको चुनावताका तत्कालिन माओवादीबाट टिकट नै पाउने उनको ध्येय सफल हुन सकेन । खासगरी उनको मतदाता नामावली नरहेको भन्ने हल्लाका कारण उनले टिकट पाउन सकिनन् ।

त्यसपछि उनको राजनीतिक दिशा नै बदलियो । दोस्रो संविधानसभा चुनावपछि समानुपातिकमा बलियो बनेको तत्कालिन राप्रपा नेपाल र राप्रपाको एकीकरण महाधिवेशनका बेला उनी सोही दलमा प्रवेश गरिन् । थापासहित गायिका कोमल वलीले राम्रै मत ल्याएका थिए । वली अहिले नेकपामा प्रवेश गरेका कारण राष्ट्रिय सभा सदस्यमा परेकी छन् ।

थापा भने त्यसपछि फुटेको राप्रपा मध्ये पशुपति शमशेर राणाको राप्रपा संयुक्तमा आवद्ध छिन् । उक्त दलको सह–महामन्त्रीसम्मको चर्चा थियो । अहिले, भने नेतृत्व तहमा छिन् ।

पछिल्ला केही समयदेखि भने थापाले विद्रोहको राजनीति गरिरहेका नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्दको समूहलाई बल पुग्नेगरी अभिव्यक्ति दिन थालेकी छन् । उनले सत्तारुढ दल र नेताको कटाक्ष गरिरहेकी छन् । त्यसमा पनि प्रचण्डको तिव्र आलोचनामा उनले शव्द खर्च गर्दै आएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित