५ कार्तिक २०८३, बिहिबार

भारतमा ‘टिक–टक’माथि प्रतिबन्ध लागेरै छोड्यो

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ बैशाख । लोकप्रिय रहेको भिडियो एप्स ‘टिक–टक’माथि भारतमा प्रतिबन्ध लगाइएको छ । मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा उक्त एप्स प्रतिबन्ध लगाइएको हो ।

भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् । यसको अर्थ टिकटकलाई अवैध बनाइएको भने होइन । पहिल्यै आफ्नो मोबाइलमा यो एप हुनेहरुले प्रयोग गर्न सक्छन् । तर, नयाँ प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने छैनन् ।

मद्रास उच्च न्यायालयको आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेपछि प्रतिबन्ध मंगलबार रातिबाट लागू भएको हो ।

सर्वोच्च अदालतले मद्रास उच्च न्यायालयमा यस सम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै सो मुद्दाको फैसला नआएसम्म सर्वोच्चले उक्त विषयसँग सम्बन्धित पुरक मुद्दा नहेर्ने निर्णयसमेत गरेको छ ।

भारतमा गएरातिबाट नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ । एप्पलको प्लेटफर्ममा भने रातिसम्म सो एप्स उपलब्ध रहेको बताइएको छ ।

‘टिक–टक’मा विशेष इफेक्टका साथ प्रयोगकर्ताले भिडियो बनाउन र शेयर गर्न सक्ने व्यवस्था छ । फेसबुकमा पछिल्लो समय ‘टिक–टक’ भिडियो निकै लोकप्रिय हुँदै गएका छन् ।

बालबालिकालाई असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो । ‘पोर्नोग्राफी’ बढाएको, यस्ता भिडियोका ‘कन्टेन्ट’ अश्लील हुने गरेको भन्दै अदालतले रोक लगाउने फैसला गरेको हो ।

भारतमा टिकटकका १२ करोडभन्दा बढि प्रयोगकर्ता छन् । यसले खासगरी युवतीहरुलाई आकषिर्त गरिरहेको छ । बंगलादेशमा पनि टिकटक प्रतिवन्धित छ भने अमेरिकामा बालबालिकाहरुको सूचना अवैधरुपमा संकलन गरेको भनेर कम्पनीलाई जरिवाना गराइएको थियो ।

मद्रास उच्च अदालतमा यो टिकटकमाथिको मुद्दाको अर्को सुनुवाई २२ अप्रिलमा हुनेछ । विश्वभर टिकटकका ५० करोडभन्दा बढि प्रयोगकर्ता छन् ।