
काठमाडौं । १ वैशाखमा १ सय ४३ जनालाई बितरणका लागि तयार पारिएको राष्ट्रिय तक्मा प्रबल जन सेवाश्री चतुर्थको सूचीमा थिए, लोक गायक पशुपति शर्मा ।
शर्मालाई न गृह मन्त्रालयले फोन गरेर शीतलनिवासको कार्यक्रमबारे जानकारी दिइयो, न राष्ट्रपति कार्यालयबाट नै कुनै सन्देश पठाइयो । फेरि सरकारले दिने पदक लिनका लागि शर्मा किन जाँदैन थिए र !
सरसर्ती हेर्दा राष्ट्रपति कार्यालयका अधिकारीका कारण नै शर्मालाई नबोलाइएको हो । र, त्यसको कारण ‘लुट्न सके लुट कान्छा’ बोलको गीत युट्युवमा आएपछि बढेको विवाद नै हो ।
सरकार र त्यसका अधिकारीले शर्मामाथि ‘साइलेन्ट रिभेन्ज’ लिएको देखिन्छ । उक्त पदक गीत सार्वजनिक हुनुअगावै घोषणा गरिएको थियो । अर्थात् ३ असोजमा शर्माको नाम प्रबल जनसेवा श्रीका लागि सरकारले अनुमोदन गरेको थियो ।
शर्माको गीत त्यसको केही महिनामा मात्र युट्युवमा आयो । र, सत्तारुढ नेकपाको युवा संघसहित अन्यले विरोधमात्र गरेनन्, धम्की पनि दिए ।
अर्को, पदक राष्ट्रपतिले दिनुपर्ने थियो । गीतमा ‘राष्ट्रपति १८ करोडको गाडी र हेलिकोप्टर चढ्छिन्’ भन्ने शव्द शर्माले उनेका थिए । जसको सत्ता समर्थकले तिव्र आलोचनामात्र गरेनन्, प्रतिपक्षी नेपाली कांग्रेसको कलाकार भएको भनी शर्मामाथि टिप्पणी पनि उठाए ।
त्यसो भए पदक पाउनेको सूचीबाट नाम किन हटाइएन ?
सरकार समर्थकको धम्कीका कारण यसै पनि आलोचना बढेको थियो । त्यहाँमाथि पदक पाउनेको सूचीबाट नाम हटाउँदा सोही कारणको बदला नियतबस लिइएको भन्ने अरु समाचारले सरकारको आलोचना हुने थियो । नाम नहटाउने तर कार्यक्रममा नबोलाउने सुझावका आधारमा नै गृह अथवा राष्ट्रपति कार्यालयबाट शर्मालाई फोन नगएको हो ।
सरकारका कुनै निकायबाट आफूलाई फोन नै नआएको शर्माले बताउँदै आउनुले यही संकेत गरेको छ । नियतबस् शर्मालाई फोन नगरिएको अड्कल काट्न कुनै कठिनाई छैन । तर, गृह मन्त्रालयका अधिकारीहरू भने यसलाई नकार्छन् ।















प्रतिक्रिया