बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

प्रहरी र प्रेमिका उस्तै हुन् !

विनोद ढकाल २०७६ वैशाख ३ गते १३:२०

-विनोद ढकाल

प्रेम विवाह गरेका कतिपय जोडीले जीवनको मध्यतिर आएर समिक्षा गरेका होलान् कि त्यसबेला कसले कति ‘झूठ’ बोलेछ ! पूर्वेली अझ झापाली पारामा भन्ने हो भने त प्रेमको अंकुरमा बाँधिएको त्यसैबेला एकअर्कालाई कति ‘चक्मा’ हानिएछ !

अहिले प्रेम पनि ‘भर्चुअल’ भइसक्यो । विश्व नै यसै प्रकरणको शिकार बनिसकेको छ । मोबाइल उठाउनुस्, सामाजिक सञ्जाल चलाउनुस् त्यसमै प्रेम गर्नुस् । त्यसमै झूठ बोल्नुस् । त्यसपछिको नतिजा पनि हेर्नुस् । सही वा गलत के निस्कन्छ ?

प्रेमिका (पत्नी)लाई सहज हिसाबले झूठ बोल्न सकिन्छ । यो आम प्रेमी (पति)को आदत पनि हो । स–साना कुरामा ।

जस्तो डेटिङमा किन ढिलो पुगियो ? अथवा घर किन ढिलो आइयो ?

‘ट्राफिकमा फँसियो प्रिय !’

नयाँ बर्षमा एउटा सिक्रि उपहार दिने भनेको होइन, खोई त ?

‘स्यालेरी आएको छैन प्रिय !’

महिलाको चरित्र र प्रहरी उस्तै हुन्छन् । हरेक चीजका प्रमाणहरू खोज्छन् । र पनि उनीहरूलाई ‘स्वीकार’चाहिन्छ नै

यी स–साना देखिने झूठले निजी जीवनमा कति फाइदा गर्ला अथवा कति घाटा पनि गर्ला । ति एकातिर छन् । एउटा व्यक्तिको झूठ बोल्ने बानी कति बलियो बन्ला र त्यसले दिर्घकालमा कति असर गर्ला त्योचाहिँ परिणामहरूले देखाइरहेको हुनसक्छ ।

प्रेमिका र प्रहरी उस्तै– उस्तै हुन् । हरेकले झूठको सामना धेरै गर्नपर्छ ।

त्यसैले पनि तत्कालिन अमेरिकी अभिनेता ज्याक निकोल्सनले भनेका होलान्– तपाईको जीवनमा जम्मा दुई जना व्यक्तिलाई ढाँट्न सकिन्छ, एउटा प्रहरी र अर्की तपाईकी प्रेमिका !’

प्रेमका अनेक आयाम हुन्छन् । झूठमा पनि प्रेम नै हुन्छ । यसको सकारात्मक असर हुनसक्छ । तर, प्रहरीसँगको झूठमाचाहिँ कुनै सकारात्मक असर हुँदैन ।

यद्यपि, कतिपय लेखकहरूले महिला चरित्र र प्रहरीको पनि तुलना गरेका छन् । एक जना विद्वानले भनेका छन्,‘महिलाको चरित्र र प्रहरी उस्तै हुन्छन् । हरेक चीजका प्रमाणहरू खोज्छन् । र पनि उनीहरूलाई ‘स्वीकार’चाहिन्छ नै ।

यो एउटा पाटो भयो । तर, कुनै पनि अपराध अनुसन्धान वा घटनाको निक्र्यौलमा पुग्नका लागि प्रहरीसँग बोलिने ‘झूठ’ कति हानिकारक बन्न सक्ला ? कुनै अभियुक्तले झूठ बोल्न सक्ला तर प्रमाणका रूपमा उभिएका पात्र र प्रवित्तिको झूठ कति भयानक हुनसक्छ ?

यस्ता धेरै सामाजिक घटनामा प्रहरी परिबन्धमा परेकै छ । कहिलेकाहीँ अभियुक्तले प्रहरी अनुसन्धानमा कबोल गरेको चिजलाई अदालतमा गलत सावित गर्न झूठ बोलिदिन्छ । कहिले प्रमाणका रूपमा उभ्याएका प्रत्यक्षदर्शीले नै बयान फेरिदिन्छन् ।

यसको एउटा उदाहरण त, गत बर्ष चर्चामा रहेको साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका कतिपय अभियुक्तका दुई बयानलाई मुल्यांकन गरे हुन्छ । छानबिन समितिलाई दिएको बयान र अदालतमा उपस्थित भएर दिएको बयान विल्कुल उल्टा थिए । जसका कारण अनुसन्धानले कुनै निचोड निकाल्न सकेन ।

सतहमा रहेका समाजमा रहेका त्यो घटनाका अनेक परिणामसँग अधिकार र राजनीतिको विषय जोडेका कुन चाहिँ व्यक्ति विशेषले प्रहरीसमक्ष ‘सही’ बयान दियो ? प्रश्न गर्न पाउनुपर्छ । प्रश्न राज्यसँग गर्दैगर्दा त्यसको उत्तर खोज्ने प्रयत्नमा कत्तिको इमानका साथ सहयोग गरियो ? यो प्रश्न आफैंसँग पनि गर्नुपर्छ

निर्मला पन्त प्रकरण अनुसन्धानकै कुरा गरौं । यो प्रकरण अहिलेसम्म टुंगोमा पुग्न नसक्नुको सूक्ष्म कारण के होला ?

प्रहरी, अनुसन्धानको सीप भएको कुशल व्यक्ति हुन सक्छ, अर्को ग्रहबाट आएको प्राणी (एलियन) होइन । जसले नाडी छामेर अपराध गरे वा नगरेको पत्ता लगाओस् । ज्योतिष पनि होइन, ग्रहगोचरको चालका हिसाबमा भविष्य बताउने ।

अपराध अनुसन्धानका लागि प्रहरीलाई समाजमा भएका हरेक पाटाबाट सहयोग हुनुपर्छ, सकारात्मक सहयोग । अनेक प्रकरणमा दिइने ‘झूठ’ बयानले कुनै पनि विषयले सही अनुसन्धान समात्न सक्तैन । त्यसकारण त्यो अर्थहिन हुन्छ । पन्त प्रकरणमा ठूला मानिसको दबाब पनि होला । तर, सतहमा रहेका समाजमा रहेका त्यो घटनाका अनेक परिणामसँग अधिकार र राजनीतिको विषय जोडेका कुन चाहिँ व्यक्ति विशेषले प्रहरीसमक्ष ‘सही’ बयान दियो ? प्रश्न गर्न पाउनुपर्छ । प्रश्न राज्यसँग गर्दैगर्दा त्यसको उत्तर खोज्ने प्रयत्नमा कत्तिको इमानका साथ सहयोग गरियो ? यो प्रश्न आफैंसँग पनि गर्नुपर्छ ।

हरेक दिन मानिस पक्राउ खाए प्रहरीभित्र एउटा बयान गरे, मिडियामा आएर अर्को बयान दिए । अरु त अरु छानबिन समितिमा बसेका सरकारी कर्मचारीसम्मको बयान सो क्रममा दुई खालको  आयो ।

यसले, अनुसन्धान नराम्रोसँग प्रभावित बनायो । त्यसको असर, अहिले पनि निर्मला पन्तकी आमा दुर्गादेवीले मागिरहेको न्यायमा परेको छ । अधिकारकर्मीका नाममा भएको दबाब, राजनीतिक दलका नाममा भएको अर्को राजनीतिले अनुसन्धान प्रभावित बनाउन उनकै ‘गलत बयानबाजी’ र बाह्य माहौलले बनाएको थिएन र ?

अमेरिकाका सिनेटर पेटे डोमिनिसीले भनेका थिए– प्रहरीले अपराधसँग लडिरहेका बेला हरेक हतियार र प्रविधिको उपयोग सही हिसाबले गर्न पाउनुपर्छ ।

अनिमात्र कुनै पनि अपराधको अनुसन्धान सही हिसाबमा हुनसक्छ । के नेपाल प्रहरीसँग प्रविधि र हतियार समयानुकुल छन् ? छैनन् भने अपराध अनुसन्धान सही भएन भनेर दबाब मात्र दिने कि प्रहरीलाई प्रविधिमैत्रीसहित सबै हतियार ‘अप टु डेट’ पारिदेऊ, अनुसन्धान फितलो हुनुको एउटा कारण यो पनि हो भनेर प्रश्न पनि गरिदिने सरकारसँग ? अनि, सरकार यसमा जिम्मेवार बन्नु पर्छ की पर्दैन ?

अनुसन्धानमा खटिएको एउटा प्रहरीको नियत गलत भयो भने तपाईको सत्य बयानले उसको नियत उदांगो बनाउने ताकत राख्छ । झूठ लुकाउन हजारौं झूठको वैशाखी टेक्नुपर्छ । एउटा सत्य सावित गर्न, अर्को सत्यको सहारा नै पर्दैन

आलेखको सुरुमा प्रहरी र प्रेमिका उस्तै हुन् भन्ने सामान्य चरित्रलाई जोडेको छु । सामान्य जीवनका प्रवित्ति उस्तै भए पनि असाधारण अपराधको कसीमा राख्दा प्रेमिका भन्दा पनि प्रहरी प्रताडित भएको देखिन्छ । प्रेमिकासँगका स–साना झूठले व्यक्तिगत जीवनको न्याय अपहरण हुँदैन । तर, प्रहरीसँग आफ्नो स्वार्थमा केन्द्रित रहेर गरिने झूठो बयानले ‘न्याय’कै न्याय अपहरणमा पर्छ । जसका प्रभाव समाजका अनेक प्रकरणका परिणाममा देखिएका फितलोपन नै हुन् ।

यसर्थ, अपराधमुक्त समाज, न्यायपूर्ण समाजको परिकल्पना गर्ने हो भने सत्यले नै जित हासिल गर्छ । अनुसन्धानमा खटिएको एउटा प्रहरीको नियत गलत भयो भने तपाईको सत्य बयानले उसको नियत उदांगो बनाउने ताकत राख्छ । झूठ लुकाउन हजारौं झूठको वैशाखी टेक्नुपर्छ । एउटा सत्य सावित गर्न, अर्को सत्यको सहारा नै पर्दैन । त्यसैले त भनिएको छ– सत्यमेव जयतेः ।

प्रतिक्रिया
सम्बन्धित