सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

गायक मौसमको डेब्यु गीत ‘अलि अलि’ रिलिज (भिडियो)

दैनिक नेपाल २०७६ वैशाख २ गते २१:४२

काठमाडौं । गायक मौसम नेपाल ‘जुरासिक’को डेब्यु गीत रिलिज भएको छ । रिलिजसँगै गीतलाई सकारात्मक प्रतिक्रिया आउन थालेका छन् ।

नयाँ वर्ष २०७६ को उपलक्ष्यमा मौसमले ‘अलि अलि’ बोलको गीत वैशाख १ गते रिलिज गरेका हुन् । डेब्यु गीतबाट गायक मौसम उत्साहित छन् । उनको टिममा रहेका सबै कलाकारहरू गीतले राम्रो छाप छाड्ने अपेक्षा लिएका छन् ।

पहिलो गीतमा मौसम आफैले संगीत दिएका छन् । शब्द रोशनी धौवञ्जारले लेखेकी हुन् ।

र्‍याप, पप स्टाइलको गीत राम्रो बनेको मौसमको भनाइ छ । म्युजिक भिडियोमा गायक मौसम र मोडल रञ्जना परियार देखिएकी छिन् । म्युजिक भिडियोलाई गणेश सुनारले निर्देशन र छायाँकन गरेका हुन् ।

भिडियोमा सुरेश सापकोटा, कृष्णत बराल र किंगा केम्पाको अभियन देख्न सकिनेछ ।

मौसमको गीतको म्युजिक भिडियो हाइलाइट नेपालले वैशाख १ गते आफ्नो युट्युब च्यानलबाट रिलिज गरेको छ । ‘मेरो डेब्यु गीत हो’, गायक मौसमले भनेका छन्, ‘सबैले माया गरिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’

घरको सांगीतिक वातारणमा हुर्किएका २३ वर्षीय मौसम नर्वेको राजधानी ओस्लोमा बस्छन् । काठमाडौंका स्थायी बासिन्दा मौसमलाई गीत संगीतमा रुचि छ । नेपाली, अंग्रेजी र नर्वे्जियन गीत गाउन सक्ने मौसमले अबका दिनमा गायनलाई निरन्तरता दिने बताउँछन् ।

उनी भन्छन्, ‘घरको सांगीतक माहोलले पनि मलाई गीत संगीतमा लाग्न सहयोग गर्‍यो । सानैदेखि गीत संगीतमा लाग्ने इच्छा थियो ।’

मौसमका बुबा मोहन नेपाल स्वयं आधुनिक तथा गजल गायक हुन् । कुनै बेला नेपाली गीत संगीतमा राम्रो स्थान बनाएका मोहन हाल नर्वेमा बस्छन् । मौसमकी आमा रोशनी धौबञ्जार पनि राम्रो गायिका हुन् । उनले पनि थुप्रै गीतहरूमा स्वर दिएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित