सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

गुलामी राजनीतिको अन्त्य कहिले ?

वीवी श्रेष्ठ २०७५ चैत ३० गते १३:०३

लेखक

वीवी श्रेष्ठ

नेपालको राजनीतिमा गुलामी राजनीतिको दब्दवा चलिरहेको छ । हरेक कर्ममा गुलामी गर्ने र सवैलाई गुलामी नै सोच्ने राजनैतिक नेतृत्वकोे शैलीले गुलामीपनको हद बढ्दै गइरहेको छ । नेताहरू सवै जनता तथा कार्यकर्तालाई गुलामी सम्झने र कार्यकर्ता र जनता चाहिँ सानोभन्दा सानो कामका लागि पनि भनसुनमा आश्रित रहने परिपाटीले झन् गुलामी राजनीतिलाई बढवा दिँदै गइरहेको छ । परापूर्व कालदेखि नै यसको शुरुवात भएतापनि पछिल्लो समय गुलामी विनाका काम नहुने स्थिति सृजना भएको छ ।

नेताहरूको गलत रवैया र व्यवहारका कारण अन्य व्यक्ति समुदायलाई समेत यसले प्रत्यक्ष असर पारिरहेको छ । त्यसैको श्रृखला स्वरुप एक्काईसौं शताव्दीको यो संघारमा पनि आम जनताहरू परनिर्भर र गुलामीमा अभ्यस्त बन्न लालयित बनिरहेका छन् ।

चुनावका लागि, शक्ति, सत्तामा पुग्नका लागि जनता र कार्यकर्ता चाहिने नेताहरू अन्य बेलामा कार्यकर्ता र जनता चिन्ने साहस गर्दैनन् । भोट र शक्तिमा टेकेर देश र जनताका नाम भजाएर व्यक्तिगत स्वार्थ र भष्टाचारमा चुर्लम्म डुवेका राजनीतिकर्मीको नेपालमा कुनै कमी छैन । शक्ति र सत्तामा पुग्नका लागि जनताका घरदैलोसम्म पुगेर अमिल्लो नाटक मञ्चन गरेर दुनियाँ जग हँसाएका नेताहरूको त्यो कार्य फगत व्यक्तिगत स्वार्थका लागि मात्र रहेछ भनेर पटक पटक भनिरहनु आवश्यक छैन ।

गुलामी राजनीतिको विगविगी कसरी बड्यो ? के गुलामी राजनीतिविना समाज र व्यक्ति चल्न सक्दैन ? केका लागि यो गुलामी ? राजनीतिले विगारेको देशमा सन्देह किन ? राजनीति केका लागि ? आम सर्वसाधारण जनतालाई पनि जर्वजस्ती राजनीति गराउन र गुलामी बनाउन वाध्य केका लागि ? विना गुलामी जनजीविका पनि संचालन गर्न नसक्ने अवस्थाका सिर्जना कसले गरायो ? यावत प्रश्नका जवाफका लागि जवाफकर्ता नै छैन ? त्यसो भए यो गुलामी राजनीति देश, समाज र आम जनतालाई कहाँ पु¥याउला ? यो सोच्ने र यसको समाधान कसले गर्ने ?

कर्म नै समाज र व्यक्ति परिवर्तनका मुख्य आधारशीला हुन् भन्ने एकमात्र तथ्य नबुझेका जनता र जनताका यहि कमजोरीमा आफनो स्वार्थकेन्द्रित भविष्य खोज्न लालयित रहने नेतृत्वकर्ताको असक्षमता नै समाज बन्धकका मुख्य कारण हुन् ? नेतृत्वकर्ताले किन आम जनतालाई कर्मशील बनाउन, विचारले सक्षमता र स्वनिर्भर वन्न सिकाएन ? राजनैतिक नेतृत्वसँग सोझिने आम प्रश्न यहि हो । सधै आफनो जयजकार मात्र गरिरहुन, आफनो अगाडि पछाडि मात्र हिँडिरहुन् भन्ने सोँच भएको नेतृत्वकर्ता जनजीविकाका आम विषयमा किन बोल्न चाहँदैन ? जनताका जीवनस्तर कसरी उकास्न सकिन्छ भन्ने चिन्तन गर्दैन ।

आम जनता र कार्यकर्ता भजाएर शक्ति र सत्तामा हालिमुहाली गरेर जीवनका उत्तरार्धमा पुगेर मानसिक पीडा र जनताका जीवनस्तरको मापन अन्य राजनैतिककर्मीले किन लेखाजोखा गर्न सकेनन् ? राजनीति देश र जनताका लागि हो कि व्यापार हो ? घरभित्रबाट शुरु भएको राजनैतिक गुलामी समाज, क्षेत्र, जिल्ला, केन्द्रसम्म जेलिएको छ । विश्वका अन्य राजनैतिक नेतृत्वको असल गुण र कर्मलाई नेपालका राजनैतिक नेतृत्वले किन अंगिकार गर्न सकेन ।

नेपालको परिपेक्ष्यमा हेर्ने हो भने पनि देशका सबै सुविधा, शक्ति प्राप्त गरेका व्यक्तिको जीवनशैली, भोगेको यथार्थतालाई किन सुक्ष्म अध्ययन गरिएन । तिनीहरूको जीवन किन अध्ययन भएन ? उनीहरूले प्राप्त गरेको शक्ति, सत्ताले देश, समाज र जनतालाई कति सकारात्मक तथा नकारात्मक असर परे, त्यसको अनुसन्धान गरि काम गर्ने कसले ?

तराईमा शीतलहर होस वा सुनाम, बाढीको प्रकोपले वर्षेनि सयौँ व्यक्तिको मृत्यु र अंगभंग हुन्छन् । त्यस बेलामा दुईचार थान कम्मल बाँड्ने कि त्यसको प्रभावकारी समाधान गर्ने ? बाढी पीडितको समस्या पहिचान गरेर त्यसको निराकरणमा ध्यान दिने कि सरकार अथवा अन्य संघसंस्थाले जस्तापाता र कपडा वितरण गरेर समाजिक संजालमा फोटो पोस्ट गरेर सहानुभूति जनाउने ? क्षणिक प्रचारवाजीले आम जनता र देशका हित गर्न सक्दैन भन्ने बुझने कहिले र कसले ? आम प्रश्न यहि हो ।

नेतालाई आम कार्यकर्ता र जनता केवल शक्ति र सत्ता प्राप्तिका लागि मात्र बन्दछ भने त्यो नेता कदापि बन्न सक्दैन र त्यस्ता नेताले देश र समाज परिवर्तनका लागि भूमिका बहन गर्न सक्दैन । आफनो भूमिका र कर्म केका लागि भन्ने समेत भेउ पाउन नसक्ने हामी आम जनताले अब गुलामी राजनीति गर्न हुँदैन । जबसम्म नेता जनता खोज्दै गाँउ र पखेरा सम्म पुग्न सक्दैन, तवसम्म देश र जनताले काँचुली फेन सक्दैन ।

सदियौँदेखि देखिएको नेताको यो पाखण्डी र सामन्ति सोँचका प्रतिकार आम जनताबाट नै हुनुपर्दछ । त्यसका लागि आम जनता कर्मशील हुनुपर्दछ, स्वनिर्भर बन्नुपर्दछ । समाज र देशका लागि योगदान दिनुपर्दछ भन्ने भावनाको विकास आम जनतामा जाग्नुपर्दछ, त्यति मात्र आम जनताले गर्न सकेमा नेताहरूको त्यो हिजोको शैलीमा आकाश पातालको परिवर्तन आउनेछ, हैन भने सधैको गुलामी प्रवृत्तिले जति नै ठूला विकास निर्माण र समृद्ध नेपालका नारा दिएता पनि हुनेवाला केही छैन ।

नेताको त्यो दास र गुलामी सोँचका अन्त्यका लागि जनता नै जागरुक बन्न जरुरी छ । जनता आफै चेतनशील बन्न जरुरी छ । जनता नै कर्मयोगी बन्न जरुरी छ । जनताको यही परिवर्तनकारी भूमिकाले नेपाल समृद्ध र सुखी नेपाल सम्भव हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित