४ कार्तिक २०८३, बुधबार

एथलेटिक्स संघको अध्यक्ष पुन: शाह सर्वसम्मत चयन

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  २५ चैत । जाजरकोट जिल्ला क्षेत्र नं २ का पूर्वसांसद राजिव विक्रम शाह एथलेटिक्स संघको अध्यक्ष चयन भएका छन् । पूर्व सांसद शाह आइतबार चितवनमा सम्पन्न अधिवेशनबाट नेपाल एथलेटिक्स संघको केन्द्रिय अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

एथ्लेटिक्समा उनी सहित १० जनाको कार्यसमिति तयार भएको छ । सदस्यहरुमा क्रमश कुमार श्रेष्ठ, जितेन्द्र चौधरी, शैलेन्द्र पाण्डे, धनविर चौधरी, दिपक रानाभाट, गज बहादुर गुरुङ, मोहन सिंह घले, जनक रावल, तेजेन्द्र थापा र दिल बहादुर बम चयन भएका शाहका स्वकीय सचिव ललित बस्नेतले जानकारी दिए ।

शाह खेलकुदलाई राजनीति भन्दा टाढा राख्नुपर्ने मान्यता राख्दछन् । नेपाल एथ्लेटिक्स संघमा यो भन्दा पहिले पनि शाह नै अध्यक्ष रहेका थिए । उनको संगठनबाट तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक ल्याउन सफल भएका थिए ।

यस वर्ष हङकङमा भएको तीन हजार मिटर दौड आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन् ।

उनले एशियन युथ एथ्लेटिक्समा भारत, यमन, चीन, जापान, चाइनिज ताइपेइ, काजकिस्तान, इरान, दक्षिण कोरिया, हङकङ, सिङ्गापुर, मलेशिया, साउदी अरेबिया र थाइल्याण्डलाई हराएका हुन् ।

यस्तै, श्रीलङ्का, उज्वेकिस्तान, इण्डोनेसिया, ओमन, भूटान, जोर्डन, कीर्गिस्तान, कुवेत, लेवनान, मकाउ, माल्दिभ्स, फिलिपिन्स, भियतनाम र कतारका खेलाडीलाई पनि पराजित गरेका थिए ।

राज्यले केही सिमित खेल भन्दा पनि सबै खेलहरुमा समान भाव राख्नुपर्ने पूर्व सांसद शाहको धारणा रहेको छ । हरेक खेल र खेलाडीप्रति राज्यले गर्व गर्नुपर्ने अध्यक्ष शाह बताउँछन् ।

वि.सं. २००४ सालमा स्थापना भएको संस्थाको प्रत्येक चार–चार वर्षमा अधिवेशन सम्पन्न हुने गरेको छ । शाहले  पछिल्लो समय राजनीतिसँगै समाजसेवामा पनि आफ्नो बलियो परिचय बनाएका छन् ।

२०७० सालको निर्वाचनमा नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्बर २ बाट सांसद बनेका शाहको जाजरकोटको विकासमा महत्वपूर्ण भूमिका रहेको छ । उनी गत निर्वाचनमा अहिलेका वनमन्त्री शक्ति बहादुर वस्नेतसँग पराजित भएका थिए ।