५ कार्तिक २०८३, बिहिबार

नेपाली हिरोइन आना शर्माकी आमालक्षित व्यंग्यमा किन उत्रिए अन्य सुन्दरी ?

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिस नेपाल आयोजक संस्था हिडेन एन्ड ट्रिजरले एक जना प्रतियोगीलाई सोधिएको प्रश्नका विषयमा स्पष्टीकरण दिँदै भनिसकेको छ– प्रतियोगीको आत्मबल परिक्षणका लागि यस्तो प्रश्न गरिन्छ ।

आयोजक संस्थाले आत्मरक्षाका लागि निकालेको विज्ञप्तिमा भनेको छ,‘सतहमा आएका चर्चा र बहसलाई सकारात्मक रूपमा लिएका छौं ।’ तर, मिस नेपाल प्रतियोगीता सुरु हुनै लाग्दा विभिन्न विवादहरू सतहमा आउनु स्वभाविक बनिरहेको छ । तर, किन यस्तो हुन्छ ?

मिस नेपाल अडिशनकी एक जना निर्णायक तथा नेपाली फिल्मकी अभिनेत्री आना शर्माकी आमा रचना गुरुङ शर्माले प्रतियोगि अस्मिता महर्जनलाई गरेको प्रश्नबारेको भिडियो सार्वजनिक भएको थियो ।

त्यो भिडियोमा प्रतियोगिलाई रचनाले किन मेकअप नगरेको ? यो मिस नेपाल प्रतियोगिताको अवमूल्यन हो भनेकी छन् । तर यसरी तिक्ष्णता वा आत्मबलको परिक्षण हुन्छ कि गिराउने काम हुन्छ भन्ने बहस पनि सतहमा आएको छ ।

यो बहसको मेकअप पक्षको प्रश्नमा भने रचनालाई व्यंग्य गर्दै कतिपय अभिनेत्री र सुन्दरीले नै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । खासगरी पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले मेकअपबिनाको तस्बिर पोस्ट गर्दै ट्वीटरमा लेखेकी थिइन्,‘नो मेकअप स्टिल व्युटिफूल ।’

यो ट्रेन्डिङ नै बनेको थियो । त्यसपछि अभिनेत्री बर्षा सिवाकोटीले पनि फेसबुकमा यस्तै प्रकृतिको तस्बिर राखेर व्यंग्य गरिन् । अन्य अभिनेत्री र सुन्दरीले पनि रचनाको प्रश्नमाथि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा व्यंग्यात्मक झटारो हानेका थिए ।

कतिपयले सुन्दरी प्रतियोगिताको कुरूप पक्षलाई उजागर गरिएको टिप्पणी पनि गरेका छन् । ट्विटरमा सुष्मिता महर्जन लेख्छिन्, ‘मैले जानेको मेकअप भनेको मस्करा र सानो टिका लगाउने मात्र हो । मेकअप हुँदा र नहुँदा पनि ममा आत्मविश्वास हुन्छ। के यो गलत हो ?’

कोपिला अधिकारीले ट्वीटरमा लेखिन्,‘म २१ औँ शताब्दीकी केटी हुँ र मेकअप मेरो वशको कुरा होइन। यो कुरा सबैले बुझून् र यो अनादर होइन ।’

सन् १९९४ देखि नेपालमा २३ पटक मिस नेपाल प्रतियोगिताको आयोजना भइसकेको छ । नेपालमा सुन्दरी प्रतियोगिताप्रति एकै खालको बुझाइ नहुनु पनि त्यस्ता प्रतियोगिता विवादमा परिरहनुको एउटा कारण भएको कतिपयको धारणा छ ।

समाजमा एकथरी यस्ता पनि छन् जसलाई नेपालमा सुन्दरी प्रतियोगिताको आयोजना गर्ने र त्यसमा सहभागी हुनेहरूसँग कुनै गुनासो छैन ।

खुल्ला समाज र विश्वव्यापीकरणका कैयौँ पक्षलाई अझै स्वीकार्न नसकेको नेपाली समाजका कतिपयले सुन्दरी प्रतियोगितालाई पनि पचाउन नसकेको तर्क गर्नेहरू पनि छन् ।

गत वर्षकी मिस नेपाल शृङ्खला खतिवडाको सहभागिताबारे कतिपयले प्रश्न गरेका थिए । कारण थियो उनी नेकपाका सांसद विरोध खतिवडाकी छोरी हुनु ।

त्यतिबेला उनले त्यसलाई बेकारको बहसको सङ्ज्ञा दिँदै ‘बौद्धिक क्षमताको प्रतिस्पर्धामा भाग लिए व्यक्तित्व विकास हुन्छ भन्ने लागेर छोरीलाई सहभागी हुन भनेको’ भन्ने अभिव्यक्ति दिएका थिए।

तर कम्मर, घाँटी, कपाल लगायत शरीरका अङ्गलाई मूल्याङ्कनको आधार मान्ने प्रतियोगिता बौद्धिकताको मापक हुन नसक्ने अधिकारकर्मी गौतमको तर्क छ ।