लण्डन, २५ चैत । आवश्यक नै नपरेको अवस्थामा बललाई टच गर्दा लगभग हुँदै गरेको गोल पनि रोकियो र पेरिस सेन्ट–जर्मेन (पिएसजी) ८ खेल अघि नै फ्रेन्च लिग वानको उपाधि जित्ने अवसरबाट पछि परेको छ ।
लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा १३ औँ मिनेटमा एरिक म्याक्सिम चुपो–मोटिङ्गको गोलबाट पिएसजीले अग्रता लियो । नुनो डा कोस्टाले २६ औँ मिनेटमा स्ट्रासबर्गका लागि बराबरी गोल फर्काए ।
त्यसपछि पिएसजीका क्रिष्टोफर एनकुन्कुले बल पोस्टमा प्रहार गरेका थिए । गोल हुने अवस्थाको बललाई १३ औँ मिनेटमा गोल गरेका एरिकले अनावश्यक रुपमा टच गरे र गोल हुन पाएन ।
३८ औँ मिनेटमा एन्टोनी गोन्काल्भसले गोल गर्दै स्ट्रासबर्गलाई अग्रता दिलाए । ८२ औँ मिनेटमा प्रेसमिएल किमपेम्बेले पिएसजीका लागि बराबरी गोल गरे ।
यो खेलमा जित निकालेको भए पिएसजीले ८ खेलअघि नै उपाधि पक्का गर्ने थियो । शीर्षस्थानको पिएसजीको ३० खेलबाट ८१ अंक छ । दोस्रो स्थानको लिलेको ३१ खेलबाट ६१ अंक रहेको छ ।















प्रतिक्रिया