५ कार्तिक २०८३, बिहिबार

लाखौं कमाउने कलाकारले सरकारलाई आयकर बुझाउँछन् ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राप्रपा संयुक्तको राजनीति पनि गरेकी अभिनेत्री रेखा थापाले केही दिन अघि महिला क्रिकेट टिम खरिद गरिन् । उनको रेखा थापा फाउन्डेशन पनि छ । उनी कहिलेकाहीँ राजनीतिक र सामाजिक विषयमा पनि बोल्छिन् । बलिउड कलाकारहरूकै लयमा थापाका यस्ता अभिव्यक्ति र कतिपय कामको प्रशंशा हुने गरेको छ ।

तर के उनी सरकारलाई आयकर बुझाउँछिन् ? यो पेचिलो प्रश्न बन्न सक्छ । उनको कम्पनी रेखा फिल्मस्का तर्फबाट बुझाउन सक्लिन् । तर, उनको व्यक्तिगत आयबाट राज्यलाई कति कर बुझाएकी छन् ? यो प्रश्न सोध्न सकिन्छ ।

उनले बुझाउने नबुझाउने भन्ने विषय कलाकार राज्यप्रति कति उत्तरदायी छन् भन्ने विषयको प्रतिनिधि प्रश्न बन्न सक्छ । तर आफूले आयकर बुझाएको विषयमा भने उनले कुनै बयानबाजी दिएकी छैनन् ।

फिल्म अभिनेताहरूको आयको हिसाबकिताब समाचार र विभिन्न मिडियामा आउने गरेको छ । अभिनेता अनमोल केसीको पारिश्रमिक ५० लाख, प्रदिप खड्का प्रति फिल्म ३० लाख लिन्छन् । र, हालै मात्र अशोक शर्माको फिल्ममा अनुबन्धित भएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले १६ लाख पारिश्रमिक लिएको चर्चा भयो । के, उनीहरूले राज्यलाई आयकर बुझाएका छन् ?

यी मात्र होइन, प्रश्न अरुका लागि पनि छन् । गायकगायिकाले विदेशी कार्यक्रममा लाखौंमा स्टेज सेयर गर्दै आएका छन् । उनीहरूको आम्दानी ह्वात्त बढेको छ । निजी सम्पत्ति पनि जोडेका छन् । अन्य विषयगत कर तिर्छन् पनि होला । तर, के आम्दानीको हिस्साबाट राज्यलाई उत्तरायीत्व बहन गरेका छन् त ?

कुनै खास कार्यालयमा जागिर खाएको र ठूलो तलव लिएवापतको कर तिर्नुपर्छ । आयकर काटिएरै तलब खातामा जम्मा हुने गर्छ । त्यतिमात्र होइन, अचेल त बैंक स्टेटमेन्ट बिनाको काम नै नहुने प्रणालीको विकास गरिएको छ । तर, कलाकारिता क्षेत्रमा राज्यले यो नियमलाई कार्यान्वयन गरेको छ त ?

कलाकार दिपकराज गिरी तथा अन्यका फिल्मले करोडौं संकलन गरेको, करोडौं पारिश्रमिक पाएकोमात्र होइन, कतिपय अवस्थामा कलाकारलाई बोनश दिएका विवरण पनि सार्वजनिक गरिन्छ । तर, के उनीहरूले राज्यलाई जिम्मेवारीताका साथ कर तिरेका छन् त ?

यसबाहेक वित्तिय संस्थाको ब्रान्ड एम्बेस्डर, निजी प्रडक्टका विभिन्न विज्ञापनमा पनि उनीहरूको व्यावसायीक छलाङ हुन थालेको छ । विदेशका कार्यक्रममा कम्तिमा पनि एउटा शोको चोखो २ लाख भन्दा बढी नगद लिने गरेका छन् । कलाकारले यति धेरै आम्दानी गर्दा राज्यलाई कति कर तिर्छन् ? उनीहरूले राज्यका निकायमा आयकर तिरेका छन् त ?

‘केहीबाहेक करको दायरामा आएको हामीले देखेका छैनौं, व्यक्तिले तिरेको रेकर्ड पनि कमैमात्र छ’, आयकर विभागका एक अधिकारी भन्छन्,‘कलाकारले तिरेको त रेकर्ड कोट्याउनै पर्छ ।’

बलिउडमा राम्रो आम्दानी गर्ने कलाकारले आफ्नो हिस्साको कम्तिमा ३५ प्रतिशतसम्म आयकर बुझाउनुपर्छ । यो अनिवार्य नियम नै हो । धेरैले बुझाउने गर्छन् । त्यसैवापत सरकारले उनीहरूलाई सुरक्षा पनि दिने गरेको छ । कतिपय कलाकारले भने कमाईको ९० प्रतिशतसम्म खर्च गरी १० प्रतिशतमात्र निजी प्रयोगका लागि राख्ने गरेका छन् ।

टेलिभिजन शोकै कुरा गर्दा, कपिल शर्माले अघिल्लो बर्ष सबैभन्दा बढी आयकर बुझाएका थिए । यो भारतीय सरकारी निकायका विवरणहरूमा देखिन्छ । तर, नेपाली कलाकारले आम्दानीको ५ प्रतिशत पनि आयकर बुझाएका छैनन् ।

बलिउडको सिको गर्दै केहीले फाउन्डेशन खोलेका छन् । खासगरी धुर्मुस सुन्तली, रेखा थापा, श्वेता खड्का राजेशपायल राईलगायतको फाउन्डेशन छ । यस मध्ये महत्वकांक्षी योजना र कामचाहिँ धुर्मुस सुन्तली फाउन्डेशनले गरिरहेको छ । थापा, खड्का र राईका फाउन्डेशनले पनि यदाकदा काम गरिरहेका छन् । यी उदाहरण मात्र हुन् । यसरी फाउन्डेशन खोलेर सेवा गरेको बताउने कलाकार थुप्रै छन् ।

फाउन्डेशनमा आफ्नो आम्दानीको हिस्सा भन्दा पनि सहयोग माग्ने चलन बढाइएको छ । फाउन्डेशनले कतैबाट सहयोग ल्याउने भन्दा पनि आफ्नो आम्दानीको हिस्साका साथै रकम आर्जनका लागि सीपमुलक काम र व्यापार पनि गर्दै आएका विश्वव्यापी उदाहरण छन् ।

राज्यलाई विभिन्न विषयमा दोष दिने र राजनीतिमा समेत बोल्ने कलाकारहरूको आयकरको विवरण नै छैन । यहाँसम्मकी चलचित्र विकास बोर्डले पनि यस्ता विषयमा कुनै नियम र ऐन बनाएको छैन ।

एकातिर कलाकार आयकर तिर्दैनन् भने अर्कातिर सरकारले पनि त्यसमा कुनै तत्परता देखाएको छैन । आम्दानीको महत्वपूर्ण हिस्सा कर तिर्ने कलाकारका लागि राज्यले विशेष सुविधा पनि दिनुपर्ने हुन्छ । खासगरी, सुरक्षालगायतका सुविधा । तर नेपालका कलाकारका लागि त्यस्ता सुविधा दिने र आयकर लिने विषयमा सम्बन्धित निकायले पनि चासो दिन नसकेको भेटिन्छ ।