८ कार्तिक २०८३, आइतबार

नेपालमा लगानी गर्न चीनको चासो बढी

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् ।

नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय र लगानी बोर्डको तथ्यांक छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

विश्वमै लगानी बढाइरहेको चीनले नेपालमा हालसम्म करिब चार खर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइसकेको छ । पछिल्लो केही वर्षयता नेपालमा चीनको प्रत्यक्ष वैदेशिक लगानी बढिरहेको छ ।

२०७२ मा भारतले लगाएको नाकाबन्दीका कारण नेपाल चीनसँग नजिकिन गएपछि चिनियाँ लगानीकर्ता उत्साहित भएका छन् । कुल गार्हस्थ उत्पादनका हिसाबले चीन विश्वको दोस्रो ठूलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने चीन विश्वको तेस्रो ठूलो देश हो ।

भारतमै लगानीको प्रतिफल सुनिश्चितता बनेपछि भारतीय लगानीकर्ता स्वदेशमै केन्द्रित भएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यकारी सदस्य शशिकान्त अग्रवालका अनुसार भारतले पछिल्लो १० वर्षमा स्वदेशमै लगानीका लागि सुविधा दिएको छ ।

उनले भने, ‘भारतीय सरकारले निर्यातमा विभिन्न चरणमा अनुदान दिएको छ । साथै हरेक प्रान्तले आफूआफूबीच प्रतिस्पर्धा गरेका छन् । प्रान्त–प्रान्तबीच कसले बढी अनुदान दिने भन्ने प्रतिस्पर्धाले पनि नेपालमा भारतबाट आउने लगानीमा कम आएको हो ।’ नेपालमा हाइड्रो, पर्यटनबाहेक अन्य क्षेत्रमा विदेशी लगानीले प्राथमिकता नपाउनु अर्काे कारण भएको उनको भनाइ छ ।

नेपालमा भारतीय लगानी २५ वर्षअघिदेखि हुन थालेको हो । अग्रवालले भने, ‘यसको सुरुवात डाबर नेपाल, युनिलिभर नेपाललगायतबाट भएको हो ।’ तर यी उद्योगले नेपालमा लगानी गरेर अन्य देशमा निर्यात गर्ने गरी उत्पादन गर्न सकेका छैनन् । अग्रवालले भने, ‘त्यसका लागि सरकारका तर्फबाट ट्रान्सपोर्टमा अनुदान दिनुपर्ने थियो । नेपालमा उत्पादित सामग्री अन्य देशमा निर्यात गर्न वातावरण सिर्जना हुन्थो ।’

नेपालले वैदेशिक लगानीका लागि उच्च प्राथमिकतामा राखेको जलविद्युत् क्षेत्रमा भारतीय लगानीकर्ताको आकर्षण घटेको संघका अर्का कार्यकारी सदस्य ज्ञानेन्द्रलाल प्रधान बताउँछन् । उनका अनुसार भारतले आन्तरिक लगानीको आधार वैकल्पिक ऊर्जाको स्रोत सोलार प्लान्टलाई बनाएको छ । त्यसैले भारतले जलविद्युत्मा चासो नदेखाएको उनको तर्क छ । चीन र बंगलादेशले भने नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न विशेष चासो देखाएका छन् ।

‘हामीलाई जसले लगानी गरे पनि खासै फरक पर्दैन,’ प्रधानले भने, ‘तर दुई ठूला अर्थतन्त्र बोकेका मुलुकबाट फाइदा लिन सक्नुपर्छ । अहिले बजार विस्तार भएको छ । हाइड्रो हाम्रो अनिवार्य लगानीको विकल्प हो ।’