८ कार्तिक २०८३, आइतबार

सरकार र कांग्रेसबीच चन्दलाई हेर्ने दृष्टिकोणमा मतान्तर

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । हिंसात्मक गतिविधि गरिरहेका नेत्रविक्रम चन्दको समूहलाई हेर्ने दृष्टिकोणमाथि संसद्मा सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच मतान्तर भएको छ ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गर्ने चन्द समूह छलफलका लागि तयार नभएपछि नियन्त्रण गर्न लागेको उल्लेख गर्दै सरकारले ‘ब्याक गियर’ नलगाउने बताएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रतिपक्षी दल कांग्रेसले भने विगतमा योभन्दा ठूलो हिंसात्मक आन्दोलन संवादबाटै समाधान भएकाले अहिले पनि वार्ताबाट अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विगतमा पनि राज्यले हिंसा नियन्त्रण गर्न शक्ति प्रयोग गरेको र त्यसले पार नलागेपछि वार्तामै आउनुपरेको दृष्टान्त पेस गर्दै वार्तामा जोड दिए ।

‘विप्लव समूहलाई सरकार र मैले धेरैपल्ट आग्रह गरेका हो,’ बैठकको सुरुमै प्रधानमन्त्री ओलीले भने, ‘तर लोकतान्त्रिक अभ्यासको उच्चतम रूप चुनाव पनि हुन दिन्न भन्ने । बम पडकाउने, निर्दोष मान्छे मार्ने । चन्दाका नाममा लुटपाट छ । यस्तो नगर्न धेरैपटक भनियो । सम्झाउँदा हुँदैन भने अब राज्य नियन्त्रण गर्न लाग्यो, ब्याक गियर छैन ।’

हतियार बुझाउन आग्रह गर्दै प्रधानमन्त्रीले नबुझाए कसरी नियन्त्रणमा लिने सरकार जानकार रहेको चेतावनी दिए । उनले चन्द समूहका गतिविधि नियन्त्रण गर्न प्रतिबन्ध लगाएको विषयलाई कसैले लोकतन्त्रसँग जोडेर टिप्पणी गरेको भन्दै आपत्ति जनाए ।

‘विध्वंसमाथि सरकारले निषेध गर्‍यो । कतिलाई हनहनी ज्वरो आयो । यो त लोकतान्त्रिक भएन भन्ने ? बम पडकाउने, लुट्न पाउने, उम्मेदवार मार्न पाउने, जनताका बस जलाइदिने त्यही हुन्छ लोकतन्त्र ? चन्दाका नाममा लुट्ने हुन्छ लोकतन्त्र ? त्यो गर्न पाइँदैन भन्दा लोकतन्त्र धरापमा पर्‍यो ?’ ओलीले भने ।

चन्द समूहमाथि प्रधानमन्त्रीले गरेको टिप्पणीको जवाफ दिँदै गच्छदारले यस्तो भाषा नबोल्न आग्रह गरे । ‘शक्तिको प्रयोग हिजोको सरकारले पनि माओवादीमाथि गरेको थियो, तर कसरी शान्ति प्रक्रियामा नेताहरूले ल्याउनुभयो, त्यसलाई पनि हेर्नुपर्छ,’ उनले भने, ‘ठूल्ठूलो भाषण गरेर नियन्त्रण गर्ने कुरा ठीक होइन । वार्ता नै गरेर समस्या समाधान गर्नेतर्फ लाग्नुपर्‍यो ।’ गच्छदारले सीके राउत समूहलाई जसरी सुटुक्क सहमति गरेर ल्याएको हो, त्यसैगरी चन्द समूहलाई पनि ल्याउन सुझाव दिए ।