४ कार्तिक २०८३, बुधबार

सिद्धार्थ रङ्गशालाको स्तरोन्नति गरिने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, १० चैत । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशभर नौ वटा रङ्गशाला निर्माण गरिरहेको बताउनुभएको छ ।

भैरहवास्थित सिद्धार्थ रङ्गशालाको आइतबार स्थलगत निरीक्षण गर्दै उहाँले भन्नुभयो, “देशका नौ वटा रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउँदैछौँ, त्यसमध्ये पनि प्राथमिकतामा सिद्धार्थ रङ्गशाला रहेको छ ।”उहाँले सिद्धार्थ रङ्गशालामै खेल अभ्यास गरेका धेरै क्रिकेट खेलाडी नेपाली राष्ट्रिय टिममा नेतृत्वदायी भूमिकामा रहेका स्मरण गर्दै रङ्गशालाको स्तरोन्नतिका लागि सरकारले विगतदेखि बजेट छुट्याएको भए पनि त्यसको दायरा बढाउने बताउनुभयो ।

मन्त्री विश्वकर्माले सिद्धार्थ रङ्गशालाको थप आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढिसकेको बताउँदै जग्गा अधिग्रहण गर्दा आवश्यक मुआब्जा रकम तत्काल व्यवस्था गर्ने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “यो रङ्गशालामा थप ११ कठ्ठा जग्गा मुआब्जासहित अधिग्रहण गर्नुपर्ने देखिएको छ, त्यसको प्रक्रिया शुरु भइसकेको छ, जिल्ला प्रशासन कार्यालयबाट मुआब्जा निर्धारण भइरहेको छ, त्यो निर्धारण हुँदाबित्तिकै मन्त्रालयले आवश्यक रकम व्यवस्थापन गर्नेछ ।”

मन्त्री विश्वकर्माले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रङ्गशालाका कारण अन्य रङ्गशाला निर्माणको काम प्रभावित नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको सुखी नेपाली, समृद्ध नेपालको अभियानमा गैरसरकारी संस्था, व्यक्ति तथा निकायले साझेदारी गर्न सक्छन्, धुर्मुस सुन्तली फाउन्डेसन पनि सरकारको अभियानलाई सहयोग गर्न लागेको हो, यसलाई हामीले स्वागत गरेका छौँ ।”

मन्त्री विश्वकर्मालाई जिल्ला खेलकूद विकास समितिका सभापति योग गुरुङ र जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रशान्तविक्रम मल्लले सिद्धार्थ रङ्गशालाको स्तरोन्नतिको योजनाका बारेमा जानकारी गराउनुभएको पश्चिमाञ्चल खेलकूद विकास समिति सदस्य उमा अधिकारीले बताउनुभयो । – रासस