
दाङ । एकै वर्षमा तीन वटा उपन्यास निकालेर ‘नोभेल किंग’को नामले चर्चित आख्यानकार सविन प्रियासनले गीत निकाल्ने तयारी गरेका छन् ।
ब्रेकअप डायरी, लक्कीचार्म, सेल्फी जस्ता चर्चित उपन्यासहरु यसै वर्ष प्रकाशन गरेका प्रियासनले अहिलेसम्म आठ वटा उपन्यास प्रकाशन गरिसकेका छन् । पत्रकारितामा समेत दखल राख्ने प्रियासनले ‘गीतहरुमा डुबेर, तिमीलाई सम्झेको हुन्छु’ र चित्र तिम्रो कोरीकोरी मनको पाना भरियो’ बोलको दुईवटा गीत बजारमा ल्याउने तयारी गरेका छन् ।
गीत तिम्रो लेखिलेखी बोलको गीत अडियोमा तयार भैसकेको छ । यसमा प्रियासनको शव्द रहेको छ भने चर्चित गायक कृष्ण काफ्लेको स्वर, पुरुषोत्तम न्यौपानेको संगीत, गोपाल रसाइलीले एरेन्ज गरेका छन् ।
प्रियासनका अनुसार चित्र तिम्रो कोरीकोरी बोलको गीतको अडियोको काम अन्तिम चरणमा पुगेको छ । पुरुषोत्तम न्यौपानेकै सँगीत रहने गीतमा फिमेल भोकल रहनेछ । चैत्रको तेस्रो सातासम्म स्टुडियोको काम सक्ने गरी काम अगाडि बढाइएको प्रियासनको भनाइ छ ।
दुबै गीतहरु नयाँ वर्षमा भिडियोसहित सार्वजनिक गर्ने योजना बनाइएको छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष समेत रहेका प्रियासनले सकेसम्म हरेक वर्ष दुईवटा गीतहरु बजारमा ल्याउने योजना बनाएका छन् ।















प्रतिक्रिया