बिहीबार, ९ जेठ २०७६
DainikNepal.com
बिहीबार, ९ जेठ २०७६

नम्रता श्रेष्ठले बनाइन प्रियासनलाई ‘नोभेल किङ्ग’

दैनिक नेपाल २०७५ फागुन २६ गते १२:३७


काठमाडौँ । मानिसको जीवनमा विभिन्न आरोह अवरोह हुन्छ । कुनैकुनै व्यक्तिहरुका कारण उठ्नै नसक्ने गरेर सकिन्छ मान्छे ! कुसैले गर्दा रहर लाग्दो प्रगतिपथमा पुग्छ मान्छे ! कुनै मान्छेका कारण प्रगतिपथमा लम्कन सफल उपन्यासकारको नाम हो, सविन प्रियासन । यस वर्ष तीन वटा उपन्यास ब्रेकअप डायरी, लक्कीचार्म, सेल्फी निकालेर ह्याट्रिक गरेपछि उनलाई यतिबेला ‘नोभेल किङ्ग’का नामले समेत बोलाउन थालिएको छ ।

फरकफरक विषय बस्तु र सन्देश लिएर उपन्यास लेखनमा लागि परेका प्रियासनले यसवर्ष प्रकाशित गरेका तीनैवटा उपन्यासका प्रकाशकहरु पनि नाम चलेका छन् । प्रियासनको ब्रेकअप डायरीलाई बिएन पुस्तक संसार काठमाडौं, लक्कीचार्मलाई ब्रदर्श बुक्स प्रकाशन प्रालि काठमाडौं, सेल्फीलाई इन्डिगो इन्क प्राकशन प्रालि काठमाडौँले बजारमा ल्याएको छ । प्रियासन दाङको घोराहीमा बस्छन् । उनी यतिबेला चर्चित उपन्यासकारकारुपमा समाजमा स्थापित छन् । नायिका नम्रता श्रेष्ठका कारण उपन्यास लेखनमा फर्किएका प्रियासनले हालसम्म ८ वटा उपन्यास प्रकाशित गरिसकेका छन् भने उनको एउटा कथा र एउटा लेखहरुको संग्रह पनि प्रकाशित छ ।

२०६० सालमा पहिलोपटक रोदनपछिको उपन्यास निकालेर साहित्यिक फाँटमा पाइला अगाडि बढाएका प्रियासनले त्यसपछि सपनाभित्रको सपना कथा संग्रह र भुमरी उपन्यास प्रकाशित गरे । दुईवर्षसम्म उनी साहित्यमा क्रियाशिल बने । तीनवटा पुस्तकहरु प्रकाशित गरेपछि उनको साहित्यिक क्षेत्रमा पुर्नबिरामनै लाग्यो । त्यसपछि १० वर्षसम्म पत्रकारितामा क्रियाशिल बनेका प्रियासनले यस अवधिमा साहित्यको स पनि लेखेनन् । तर जब २०७१ सालमा उनको भेट नायीका नम्रता श्रेष्ठसँग दाङमा भयो, त्यसपछि उनको मनमा साहित्यका रागहरु उत्पन्न भए । एकप्रकारले भन्ने हो भने उनको साहित्यमा नायीका नम्रता श्रेष्ठका कारण पुनरागमन भयो ।

चलचित्र सम्बोधनको च्यारिटी सोका लागि दाङ आएकी नम्रतासँगको क्षणिक भेटका कारण मनमा लुकेका साहित्यीक डबलीहरु कथाकापात्र बन्न थालेपछि प्रियासनले नम्रताकै बारेमा उपन्यास लेख्ने योजना बनाए । जुन कुरा २०७१÷०७२ तिर भाइरल बन्यो । नायीका नम्रता श्रेष्ठको जीवनमा आधारित रहेर उपन्यास निकाल्नका लागि प्रियासनले नम्रताको बारेमा भरमजदुर अध्ययन गरेका थिए । उनको बारेमा लेखिएको पत्रपत्रिकाहरु, यूट्यूव, नम्रताका अन्तवार्ताहरु देखि उनले चिनेजानेका धेरैसँग सोधपुछ गरेर नम्रताको बारेमा जानकारी लिएको प्रियासनको भनाइँ छ । उपन्यास लेख्ने विषयमा नम्रतालाई सम्बोधन चलचित्रका निर्माताहरु मार्फत खबर पठाएको र त्यसपछि फोनबाट पनि यस विषयमा धेरैपटक नम्रतासँग छलफल गरेको बताउने प्रियासनले अध्ययनकै भरमा उपन्यासको पाण्डुलिपी तयार बनाए । पाण्डुलीपी तयार भएपछि नायीका नम्रता श्रेष्ठलाई काठमाडौंमा गएर उनको हातैमा दिएको प्रियासनको भनाइँ छ ।

प्रियासनले नम्रताको बारेमा लेखिएको उपन्यास अहिलेसम्म ननिकाले पनि त्यसपछि २०७३ जेठमा पुनरागमन उपन्यास निकालेर १० वर्षपछिको साहित्यिक रिक्ततालाई उनले मेट्ने काम गरे । त्यसपछि उनले पल्लवी, सहनशीला, सेल्फी, लक्कीचार्म र केही दिन अगाडी ब्रेकअप डायरी उपन्यास निकालेका छन् । प्रियासनले निकालेका सबै उपन्यासहरु पठनीय भएकाले बिक्री समेत अत्यधिक भएको छ ।

२०७५ सालमा तीन वटा उपन्यास प्रकाशन गरेर उपन्यास निकाल्ने कार्यमा ह्याट्रिक गरेका प्रियासनलाई यतिबेला नोभेल किङ्गका नामले पनि बोलाउने गरिन्छ । नम्रताका कारण उपन्यास लेखनमा फर्किएका प्रियासनले पछिल्लो समयमा गीतहरु पनि लेखिरहेका छन् । भविष्यमा नेपालकै सबै भन्दा धेरै उपन्यास लेख्ने उपन्यासकारका रुपमा आफूलाई स्थापित बनाउने उद्देश्यले अगाडि बढिरहेका प्रियासन हाल नेपाल पत्रकार महासंघ दाङको अध्यक्षमा रहेर पत्रकारिताको नेतृत्व पनि गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित