४ कार्तिक २०८३, बुधबार

को हुन् ‘विखण्डनकारी’ भनिएका सीके राउत ?

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । स्वतन्त्र मेधस गठबन्धनका अध्यक्ष सीके राउत शुक्रबार सरकासँग ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आएका छन् ।

सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका राउतलाई थुनामुक्त गर्न आदेश दिएको भोलिपल्टै उनी मूलधारमा आएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई साधारण तारेखमा रिहा गरेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

योसँगै मधेशलाई नेपालबाट टुक्रयाएर अलग राज्य बनाउनुपर्छ भन्ने अभियान चलाई रहेका राउत अन्ततः राष्ट्रिय अखण्डताको पक्षमा फर्किएका छन् ।

राउत उनको समूहसँग सरकारले गएको केही महिनादेखि गोप्य वार्ता गरेको थियो । वार्ता निष्कर्षमा पुगेसँगै राउत विखण्डको मुद्धा त्याग्न तयार भएका हुन् । शुक्रबार उनले पृथकतावाद त्याग्ने घोषणा गर्दै सरकारसँग १० बुँदे सहमति गरेका छन् ।

मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने राउत को हुन् ?

सप्तरीको महादेव गाउँमा जन्मिएका डा. चन्द्रकान्त राउत (सीके) अमेरिकामा वैज्ञानिकका रुपमा कार्यरत थिए । वैज्ञानिकको रुपमा रहेका राउत सन् २०११ को अन्त्यमा त्यहाँबाट राजीनामा दिएर राजनीति गर्नका लागि नेपाल फर्किएका थिए ।

उनले नेपाली युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभुषण लगायतका विभिन्न सम्मानसमेत प्राप्त गरेका छन् । राउतले ललितपुरको पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स इन्जिनिररिङमा स्नातक गरेका छन् । अमेरिकामा रहँदा उनी गैरआवासीय मधेशी संघको संस्थापक अध्यक्ष बनेका थिए ।

जापान सरकारले दिने छात्रवृत्तिमा अध्ययन गर्न राउत जापान गएका थिए । उनले जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेका थिए ।

राउतले आफ्ना आत्मकथा ‘बैरागदेखि बचाउसम्म’ पुस्तकमा रितिक रोशन काण्ड र इराकका आतंकवादीहरुले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा भएको दंगालाई मधेसीमाथिको दमनको रुपमा लिएको उल्लखे गरेका छन् । अमेरिकाबाट नेपाल फर्किएपछि राउतले विखण्डनको पक्षमा बोल्न शुरु गरेका हुन् ।

स्वतन्त्र मधेर र अलग राज्यको माग उनले अघि सारे । विखण्डनको माग गर्दै हिँडेका राउत पटक पटक पक्राउ परेका थिए । उनीविरुद्ध राज्य विप्लवको मुद्दा दायर हुने गरेको थियो । राउतलाई पश्चिमा देशहरुले नेपाल विरुद्ध प्रयोग गरेको आरोप लाग्ने गरेको छ ।

सन् २००६ मा मधेस आन्दोलन शुरु हुँदा उनीसहितको समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको भन्दै ‘एलायन्स फर राइट्स एण्ड इन्डिपेन्डेन्स अफ मधेश’ को स्थापना गरेका थिए ।

यो गठबन्धनको मुख्य नारा नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समोचित अधिकार र मधेशको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेशको स्थापना’ रहेको थियो । राउत नेतृत्वको समूहले आफ्नो छुट्टै झण्डा, मधेशको छुट्टै राष्ट्रियगान तयार गरेका थिए ।