
–शेरबहादुर सिंह
भीमदत्तनगर, २२ फागुन । आगामी महिना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमका तीन प्रदेशका महिला तथा पुरुष बक्सिङ खेलाडी छनोट गरिएको छ ।
कञ्चनपुरको भीमदत्तनगरस्थित बक्सिङ प्रशिक्षण केन्द्रमा आयोजित प्रदेश स्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश नं ५ का खेलाडी छनोट भएका हुन् । सुदूरपश्चिम खेलाडी विकास समितिको आयोजनामा गत आइतबारदेखि थालिएको खेलाडी छनोट प्रतियोगिता बुधबार सम्पन्न भएको बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशबाट पुरुष ४९ किलो तौल समुहमा कञ्चनपुरका भानु विष्ट प्रथम स्थान ओगट्दै आठौँ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । पुरुष ६५ केजीमा कञ्चनपुरकै महेन्द्र चन्द छनोट भएका छन । पुरुष ५२ केजी तौलमा कञ्चनपुरकै उत्तम चन्द छनोट भए ।
त्यसैगरी ६४ केजी तौल समुहमा बाजुराका हिमाल खडका छनोट भएका छन् । पछहत्तर केजी तौल समुहमा कञ्चनपुरका सुरेश सिंह छनोट हुँदा डडेल्धुराका विरेन्द्र बहादुर शाही उपविजेता बने । त्यसैगरी ८१ केजी तौल समुहमा सुदूरपश्चिम प्रदेशबाट बाजुराका हिक्मतबहादुर सिंह छनोट भए । प्रदेश नं ५ अन्तर्गत पुरुष ४९ केजी तौल समुहबाट दाङका सुरज वली, ५२ केजी तौल समुहमा रोल्पाका समिर चौधरी, पुरुष ६० केजी तौल समुहमा बाँकेका इन्द्र सुनुवार र ६४ केजी तौल समुहमा बाँकेका विशाल ऐरीले छनोट चरण पार गरेका छन् ।
त्यस्तै पुरुष ५६ केजी तौलसमुहमा बाँकेका नविन घर्ती, ६९ केजी तौल समुहमा बाँकेका यमराज चौलागाई र पुरुष ७५ केजी तौल समुहमा दाङमा गणेश विक छनोट भएका छन । फाइनल खेलको समापन समारोहमा विजेता खेलाडीलाई भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, राखेपका पूर्व केन्द्रीय सदस्य हरकसिंह धामी, कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेरबहादुर चन्द, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरलगायतले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।
खेल सामाग्री वितरण
त्यसैगरी बक्सिङ छनोट समापन समारोहमा नेपाली बक्सर दीपक मर्हजनले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै अन्य प्रदेशका खेलाडीलाई खेल सामाग्री वितरण गर्नुभयो । उहाँले खेलाडीलाई प्रशिक्षणमा सहयोग पु¥याउने उद्देश्यले व्यक्तिगत रुपमा खेलाडीलाई बक्सिङ् खेलका सामाग्री वितरण गरेको बताउनुभयो । ‘खेलाडीको अवस्था देखेर माया लाग्यो”, महर्जनले भन्नुभयो । उहाँले विभिन्न जिल्लाका खेलाडीलाई दश जोर ‘ग्लब्स’ वितरण गर्नुभएको थियो । – रासस















प्रतिक्रिया