काठमाडौं, २१ फागुन । सरकारले आगामी २५ वर्षभित्र प्रतिव्यक्ति आय साढे १२ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य अघि सारेको छ । २५ वर्षसम्मको दीर्घकालीन सोचसहित १५औँ पञ्चवर्षीय योजना ०७६/७७–०८०/८१ तयार गरिरहेको योजना आयोगले यस्तो लक्ष्य निर्धारण गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
योजना आयोगले अहिले एक हजार १२ डलर रहेको प्रतिव्यक्ति आयलाई तीन वर्षभित्र १ हजार ५ सय र वि.सं. ०८७ सम्म ४ हजार १ सय अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । वि.सं.२१०० सम्म प्रतिव्यक्ति आय तीव्र गतिमा बढाएर साढे १२ हजार डलर पुर्याउने दीर्घकालीन लक्ष्य आयोगको छ ।
वि.सं. ०४६ मा देशमा प्रतिव्यक्ति आय १ सय ९३ अमेरिकी डलर थियो । ०५६ मा बढेर २ सय ३१ पुगेको थियो । ०६६ मा ५ सय ९२ पुगेको प्रतिव्यक्ति आय ०७२ मा भने ७ सय ७२ पुगेको थियो । हाल नेपालको प्रतिव्यक्ति आय १ हजार १२ अमेरिकी डलर रहेको योजना आयोगको तथ्यांक छ ।
६ दशकदेखिको योजनाबद्ध विकासको प्रयास र त्यसका उपलब्धिका आधारमा १५ योजना तयार गरिएको आयोगको भनाइ छ । समानतामूलक समाज निर्माण र समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माण गर्ने संवैधानिक व्यवस्थाअनुरूप योजना निर्माण गरिएको आयोगले उल्लेख गरेको छ । सरकारको नीति तथा कार्यक्रममा अघि सारिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को यात्रालाई लक्ष्यका रूपमा लिइएको छ ।
१५औँ योजनाका लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रको साझेदारीलाई बढावा दिने आयोगको योजना छ । आर्थिक वृद्धि, रोजगारी सिर्जना र स्रोत परिचालनमा स्थानीय, प्रदेश र संघ गरी तीनै तहको सरकारको सक्रियतालाई १५औँ योजनामा प्राथमिकतासाथ राखिएको छ ।
अहिले देशमा आयमूलक गरिबीको दर २१.६ प्रतिशत छ भने बहुआयामिक गरिबीको दर २८.६ प्रतिशत छ । आर्थिक विकासमार्फत आम्दानीको अवस्थामा सुधार ल्याई गरिबी न्यूनीकरणमा उल्लेख्य सुधार ल्याउने योजना आयोगको भनाइ छ ।
समुन्नत, स्वाधीन र समाजवादउन्मुख अर्थतन्त्रसहितको सघन अन्तरआबद्धता तथा उच्च उत्पादकत्व भएको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित र उच्चजीवनस्तर भएका सुखी नागरिक बसोवास गर्ने मुलुकका रूपमा नेपाललाई विकास गर्ने सोच योजनामा राखिएको छ ।















प्रतिक्रिया