४ कार्तिक २०८३, बुधबार

किन राजनीतिको उल्टो बाटोमा छन् कम्युनिस्ट नेता पुत्रहरू

38.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । न त्याग न बलिदान ! विभिन्न क्रियाशील संगठनको जिम्मेवारीमा एकाएक उदय हुने गरेका सत्ताधारी नेकपा सम्बद्ध नेताका सन्तानको बद्मासीको सर्वत्र निन्दा हुन थालेको छ ।

नेपालमा भएका ठूला भ्रष्टाचार, ठेक्का, प्रहरी र कर्मचारीको सरुवा बढुवामा नेतापुत्रको बोलबाला बलियो रहेको बताइन्छ । यदाकदा नाता जोड्ने गरेका कार्यकर्ताको पनि उत्तिकै तुजुक चल्ने गरेको छ । त्यसकारण उनीहरू विवादमा समेत फस्ने गरेका छन् ।

प्रहरी होस् वा प्रशाशकीय अधिकारी, राजनीतिक दलका तल्ला तहका नेता जसले शीर्ष र प्रभावकारी नेतृत्वमा सिधा पहुँच पुराउने बाटो पाउँदैनन् उनले तिनका सन्तान शुत्रबाट अवैधानिक हिसाबले फाइदा लिने गरेका छन् । यसकारण, प्रलोभन र भोगविलासमा मस्त पुत्रहरूको बलमा पिताहरूले प्रशाशकीय क्षेत्रलाई ‘कृपावाद’मा डुबाइरहेको आरोप लाग्ने गरेको छ ।

खासगरी नेकपामा प्रभाव जमाउने नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा उपराष्ट्रपति नन्दबहादुर पुनः, सभामुख कृष्णबहादुुर महरा, झलनाथ खनालका सन्तानलाई रिझाउँदै प्रहरी, प्रशाशकीय क्षेत्रका सचिव, सहसचिव, उपसचिवलगायतका अधिकारीले राम्रो पोस्टिङ र बढुवाको सुविधा सिफारिसका आधारमा लिने गरेका छन् । यो ‘ओपन सेक्रेट’ सत्यलाई तोडमोड गर्नका लागि शक्ति केन्द्रको दबाब बलियो हुने गरेको छ ।

सियासतको ताकतको दुरुपयोग गर्न र गराउनका लागि प्रचण्डसँग नजिक रहेका विभिन्न नेता, गौतमपुत्र हरिश, थापापुत्र प्रतीक, उपराष्ट्रपतिपुत्र दिपेश, महरापुत्र राहुल, खनालपुत्र निर्भिकको बोलबाला प्रशासनदेखि ठेकेदारसम्ममा रहेको बताइन्छ । उनीहरूको यहि प्रवित्ति र प्रयोगबारे पटक–पटक खुलासा भए पनि बाबुहरूले आँखा चिम्लिएका कारण शक्ति केन्द्रको दुरुपयोग बढिरहेको छ ।

यी भीआइपी सन्तानले काठमाडौंको दरबारमार्ग, ठमेल, नक्साल आसपासका महँगा र गतिला रेस्टुरेन्टलाई भेट्ने थलोका रूपमा विकास गरेका छन् । राजनीतिक उत्तरादयीत्व र क्रियाशीलता भन्दा पनि अवैधानिक बाटोको आम्दानीका लागि उनीहरू सक्रिय हुँदै आएका छन् ।
कतिपय भ्रष्टाचार र घुसकाण्डबारे खुलेका रहस्यमा कोही न कोही जोडिने गरेका मात्र छैनन्, नेतापुत्रको दबाबका कारण प्रहरीको नियमित बढुवा, संरचनागत ढाँचामा समेत असर हुँदै आएको छ ।

‘शक्ति केन्द्रको प्रयोगमा काम गराउने प्रस्तावमा दिपेश अग्रसर हुन्छन् । अन्यले भने बाबुको ताकतलाई प्रयोग गरेर काम निकाल्छन्’, उच्च स्रोतले भन्यो ।

ताकतको प्रयोग गरेरै विवादमा तानिएका कारण केही समयअघि गृहमन्त्री थापाले पुत्र प्रतीकलाई मुख्य स्वकीय सचिवबाट हटाएका पनि थिए । तर, पार्टी र संगठनले भने उनलाई कुनै कारबाही गरेको थिएन ।

त्यसअघि प्रहरी प्रमूखका विषयमा अखिल क्रान्तिकारी र अनेरास्ववियुले जारी गरेको विज्ञप्तिको विपक्षमा खुलेरै दिपेश पुन लागेका थिए । कतिपय विद्यार्थी नेताले भनेका थिए,‘खानेमेलो बन्द भएपछि विरोधमा लागेका हुन् ।’

त्यसो त नेताले आफ्ना सन्तानलाई शक्तिमा रहँदा सचिवालयमा नै राखेका थिए । महरा हुन् या थापा अथवा पुन हुन्, सचिवालयमा सन्तानको हालीमुहाली नगराएका होइनन् । महरा अर्थमन्त्री हुँदा राहुल स्वकीय सचिव थिए ।

उता, नातावादी कित्तामा शीर्ष नेतामात्र होइन, संघीय संसदका सदस्यहरूकै सूची केही समयअघि सार्वजनिक भएको थियो । सांसदहरूका पिए नै आफन्तमात्र रहेको समाचार बाहिर आइसकेको छ । कम्युनिस्ट राजनीतिको एउटा पुस्ताले परिवर्तनपछिको सत्ता चलाइरहेका बेला उनका पुत्रहरू भने उल्टो बाटोमा लाग्नु आशावादी संकेत भने नरहेको बताउँछन् राजनीतिज्ञहरू ।