८ कार्तिक २०८३, आइतबार

भारत-पाक तनावले नेपाल आउने उडान प्रभावित

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘पाकिस्तानको आकाश प्रतिबन्ध भएपछि कतार, दुबईलगायत खाडी मुलुकबाट नेपाल आउने जहाजको हवाईमार्ग बदलिएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘नयाँ रुटअनुसार खाडी मुलुकबाट उडेका जहाज भारतको महाराष्ट्र हुँदै नेपाल आउन थालेका छन्।’ साबिक उडान तालिकाअनुसार खाडी मुलुकबाट नेपालका लागि उड्ने जहाज पाकिस्तान र अफगानिस्तानको पठार क्षेत्र हुँदै सिधै नयाँदिल्लीको आकाशमार्ग प्रयोग गरी त्रिभुवन विमानस्थल अवतरण गर्थे।

‘त्यो नेपालका लागि सबैभन्दा छिटो र मितव्ययी बाटो हो,’ ती अधिकारीले भने, ‘पाकिस्तानले भारत आउने जहाजलाई आफ्नो आकाशमा छिर्न नदिएपछि त्यो रुटबाट नेपाल आउने जहाज उड्न पाइरहेका छैनन्, नयाँ रुटले यात्रुलाई बढी समय, विमान कम्पनीलाई ज्यादा खर्च र प्रशासनिक भार थप गरिदिएको छ।’ प्राधिकरणका अनुसार यसरी महाराष्ट्र हुँदै नयाँ मार्गबाट नेपाल आउने जहाजले ४५ मिनेट बढी उडान भर्नुपर्छ।

‘४५ मिनेट बढी उडाउँदा जहाजको खर्च पनि बढ्ने नै भयो, यसबापत यात्रुसँग बढी भाडा लिन नपाइने हुनाले एयरलाइन्सहरूलाई अप्ठेरो परेको छ,’ ती अधिकारीले भने, ‘भारतीय आकाशमा जहाजको चाप बढी परेकाले विमानहरूले समयमै उडान भर्न र बाटो पाउन पनि मुस्किल पर्दै गएको छ।’

यसरी रुट परिवर्तन गर्नुपर्दा आएको कठिनाइका कारण टर्किस एयरलाइन्सले काठमाडौंबाट तोकिएको मंगलबारको उडान रद्द गरेको थियो भने त्यसका कारण सयौं यात्रुले सास्ती पाएका थिए।