
काठमाडौँ, १३ फागुन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’सम्बन्धी चौथो सम्मेलनमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
विश्वका ६० देशका स्वास्थ्यमन्त्री एवं विज्ञ तथा वैज्ञानिकहरूको सहभागितामा हुन लागेको सम्मेलमा स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिका विषयमा यस क्षेत्रमा काम गरिरहेका विज्ञ तथा वैज्ञानिकहरूले प्रविधिको व्यावहारिक प्रयोगका बारेमा छलफलका साथै प्रदर्शनीको आयोजना गरिनेछ।
तीन दिनसम्म चल्ने सो सम्मेलनमा पहिलो र दोस्रो दिन विभिन्न देशले अपनाएका नीतिगत वातावरण, चिकित्सकीय पद्धति, तथ्यपरक मूल्यांकन, साइबर सेक्युरिटी र स्वास्थ्यमा सर्वव्यापी पहुँच र दिगो विकासको लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिकाबारे छलफल गरिनेछ ।
कार्यक्रमको तेस्रो दिन भने प्रदर्शनीमा सहभागी हुने विभिन्न देशका सरकारी, प्राज्ञ, अनुसन्धानकर्ता, उद्योगपतिका साथै स्वास्थ्य प्रविधिका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय प्राविधिक तथा विज्ञहरूले व्यावहारिक रूपमा प्रयोगमा ल्याइएका सूचना प्रविधिका बारेमा प्रदर्शनीको आयोजना गर्ने बताइएको छ ।












प्रतिक्रिया