
काठमाडौं, ९ फागुन । महेन्द्रनगर युनाईटेड धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । बिहिबार भएको इलिमिनेटरमा रुपन्देही च्यालेन्जर्सलाई १ रनको रोमाञ्चक जित हात पार्दै महेन्द्रनगरले क्वालिफाएरमा स्थान सुरक्षित गरेको हो ।
फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १ सय १६ रनको लक्ष्य पच्छाएको रुपन्देही निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रनमै रोकियो ।
रुपन्देहीका लागि अन्तिम ओभरमा ५ रनको आवश्यकता हुँदा महेन्द्रनगरका अविनाश बोहराले उत्कृष्ट बलिङ गर्दै टिमलाई जिताए । उनले अन्तिम ओभरमा ३ विकेट झारे भने १ रन मात्र खर्चिए । उनले २ रन भने एक्स्ट्रा खर्चेका थिए । अन्त्यमा खेल निकै रोमाञ्चक बनेको थियो ।
रुपन्देहीका प्रदीप सिंह ऐरी र बाबर हायतले समान २८र२८ रन जोडे । महेन्द्रनगरका अविनास बोहराले २ विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र सिदान्त लोहनीले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ११५ रन बनाएको थियो । खराब सुरुवात गरेको महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले अविजित २९ रन जोडे ।
रुपन्देहीका ललित भण्डारी एक्लैले ४ विकेट लिए । यस्तै पुनित मेहेराले ३ तथा कप्तान बसन्त रेग्मीले एक विकेट लिए ।
महेन्द्रनगरले समूह चरणमा रुपन्देहीसँग २ रनले हारेको बदला बिहीबारको खेलमा लिएको छ ।















प्रतिक्रिया