
काठमाडौँ, ९ फागुन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टीको विधानमा विवाद रहेका विषयहरुमा छलफल गर्ने कार्यक्रम छ ।
पार्टीको महाधिवेशनका लागि समावेशी समानुपातिक कोटाबाट छनोट हुने व्यक्ति एक पटक भन्दा नदोहोर्याउने र प्रतिनिधिहरु वडाबाटै छनोट भएर आउने विषयमा जारी विवादबारे बैठकमा छलफल हुनेछ ।
बैठकमा नेविसंघलगायतका भ्रातृ संगठनबारेको विवादमा पनि छलफल हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । यसअघि गत फागुन १ गते बसेको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले केन्द्रीय समितिको तर्फबाट महासमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव महासमितिबाट प्राप्त सुझावसहित परिमार्जन गरी पेश गरेका थिए ।
पछिल्लो समय काँग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने सम्भावना छ । केन्द्रीय कार्यसमिति बैठकमार्फत पार्टीको विधान पारित गनुपर्नेमा नेताहरूबीचको स्वार्थ र आरोप प्रत्यारोपका कारण बैठक लम्बिएको छ ।
महासमिति बैठकको म्यान्डेटअनुसार विधानलाई अन्तिम रूप दिन तथा पार्टीको आगामी गन्तव्य स्पष्ट गर्न माघ १० गते केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो । उक्त बैठकले सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णयबाहेक आन्तरिक राजनीतिबारे कुनै निर्णय गर्न सकेको थिएन ।
महासमिति बैठकको समापन समारोहमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिसमक्ष गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने नगर्ने विषय जारी बैठकमा प्रमुख विवादको कारण बनेको छ ।
महासमितिमा झण्डै ५० जिल्लाका सभापतिहरूले केन्द्रीय कार्यसमिति र पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान संशोधन गरिनुपर्ने र समानुपातिक प्रणालीअन्तर्गत एक व्यक्तिलाई एक पटक मात्रै अवसर दिनुपर्ने कुरा विधानमै उल्लेख गर्नुपर्ने माग गरेका थिए ।
सोही मागअनुसार देउवा र पौडेलले केन्द्रीय कार्यसमितिबाट विधान परिमार्जन गर्ने प्रतिबद्धता जनाएपछि संशोधित विधान पारित भएको थियो । तर, महासमितिबाट सर्वसम्मत रूपमा पारित विधानबारे केन्द्रीय समितिमा सदस्यहरूबीच नै मत बाझिएको छ ।















प्रतिक्रिया