८ कार्तिक २०८३, आइतबार

निकुञ्ज मिचेर बनाइएको मञ्चमै बसेर मन्त्री बस्नेतले गरे उद्घाटन

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । निकुञ्ज मिचेर बनाइएको मञ्चमा बसेर वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मंगलबार गागलफेदीमा कागेश्वरी पर्यटन महोत्सव उद्घाटन गरेका छन् । शिवपुरी–नागार्जुन निकुञ्जको सुन्दरीजल सेक्टरअन्तर्गत पर्ने तीन रोपनी जग्गामा कागेश्वरी मनोहरा नगरपालिका र १ नम्बर वडा कार्यालयले डोजर लगाएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

महोत्सवलाई ‘कागेश्वरी–मनोहरा नगरपालिकाको पहिचान, पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धि हाम्रो अभियान’ नारा दिइएको छ। निकुञ्जको जंगलसँगै रहेको ऐतिहासिक कागेश्वरी महादेवको मन्दिरको धार्मिक तथा पर्यटकीय महत्त्व दर्शाउन महोत्सव गरिएको आयोजक नगर र वडाले जनाएका छन्।

निकुञ्जको जग्गा अतिक्रमण गर्नेलाई कारबाही दायरामा ल्याउन पहल गर्नुपर्नेमा सरोकारवाला मन्त्रीले उल्टै प्रोत्साहन गरेपछि संरक्षणकर्मीले आश्चर्य व्यक्त गरेका छन्। यसबारे मन्त्री बस्नेतसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउनै चाहेनन्।

महोत्सव उद्घाटनमा शिवपुरी–नागार्जुन निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) डिलबहादुर पुर्जा पुनसँगै उक्त क्षेत्रका नेकपाका सांसद कृष्ण राई, प्रदेश सांसद रामेश्वर फुयाल र नगरप्रमुख कृष्णहरि थापालगायत थिए।

कागेश्वरी–मनोहरासमेत पर्ने निकुञ्जको सुन्दरीजल सेक्टर हेर्नेे सहायक संरक्षण अधिकृत पशुपति अधिकारीका अनुसार नगरपालिका र वडाले मन्दिरसँगै रहेको निकुञ्जको तारबार र पर्खाल डोजर लगाएर भत्काएका हुन्। ‘गत वर्ष रोपिएका बिरुवासमेत फालेर निकुञ्जको जमिन सम्याइएको छ,’ उनले कान्तिपुरसित भने, ‘रोक्न खोजिए पनि सकिएन।’ १ नम्बर वडाध्यक्ष मुकुन्द गजुरेलले डोजर लगाइए पनि निकुञ्ज नमिचेको दाबी गरे।

निकुञ्जका तत्कालीन चिफ वार्डेन कमलजंग कुँवरको पहलमा उक्त क्षेत्रमा पर्खाल लगाएर वृक्षरोपण गरिएको थियो। अहिले त्यही पर्खाल भत्काएर महोत्सवका नाममा जग्गा अतिक्रमण गरिएको हो।

उक्त क्षेत्रमा २०७२ देखि महोत्सव आयोजना हुँदै आएको छ। सांसद फुयालकै पहलमा हुँदै आएको महोत्सवमा यसपालि उनी संरक्षक छन्। महोत्सव व्यवस्थापन समितिमा दलबहादुर लामा, साविकको गागलफेदी गाविसका पूर्वअध्यक्ष विश्वराज श्रेष्ठलगायत थिए। महोत्सवपछि उक्त क्षेत्रमा एक हजार किलोको नेपालकै सबभन्दा ठूलो कागको प्रतिमा स्थापना गर्ने तयारी छ।

उपत्यकाका उत्तरी पर्वतको प्रवद्र्धन तथा विभिन्न स्थानीय उत्पादन जगेर्ना तथा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाको दाबी छ। उक्त स्थानबाट उपत्यकाको मनोरम दृश्यसहित सूर्यास्त र सूर्योदय अवलोकन गर्न सकिन्छ।