८ कार्तिक २०८३, आइतबार

ठूला सुस्त, साना सक्रिय

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । ठूला दल राजनीतिक एजेन्डामा सुस्त देखिए पनि साना दल सक्रिय भएका छन् । सत्तारुढ दल नेकपा तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक झमेलामा फसेका बेला साना दल राष्ट्रव्यापी अभियान लिएर गाउँ पसेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट र ३ प्रतिशत मत ल्याउने दललाई राष्ट्रिय मान्यताप्राप्त दल मानिन्छ । गत चुनावका आधारमा ४ दल (नेकपा, कांग्रेस, संघीय फोरम र राजपा) ले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

चुनावी मोर्चामा कमजोर बनेपछि साना दल निरन्तर राष्ट्रिय अभियानमा जोडिन थालेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नयाँ शक्ति, नेकपा (क्रान्तिकारी–माओवादी)लगायत साना दल पार्टी अभियान बोकेर गाउँ छिरेका छन् । मंगलबारबाट राप्रपा र क्रान्तिकारी माओवादी गाउँ पसे ।

सत्तारुढ नेकपाले पार्टी एकताको सन्देशसहित राष्ट्रिय अभियान लिएर गाउँ पुग्ने योजना बनाएको थियो । तर, पार्टी एकता भएको ९ महिना बित्दासमेत एकता नै टुंगिएको छैन । उसले सञ्चालन गर्ने भनेको राष्ट्रिय अभियान अलपत्र परेको छ ।

पछिल्लो स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पेस गरेको साझा राजनीतिक दस्ताबेजमा पनि माघ र फागुन दुई महिना विशेष राजनीतिक अभियान सञ्चालन गर्ने उल्लेख छ । एकता थाती रहेपछि राष्ट्रिय अभियान अलपत्र छ । ‘अब ढिला नहोला, यही महिनाभित्रै पार्टी एकताको काम सम्पन्न होलान्’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अन्नपूर्णसँग भने, ‘त्यसपछि राष्ट्रिय अभियान लिएर हामी गाउँ पुग्छौं ।’

राष्ट्रिय अभियान अलपत्र परे पनि नेकपाले प्रदेशस्तरीय पार्टी प्रशिक्षण भने सञ्चालनमा ल्याएको छ । बुधबार उसले सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय नेता–कार्यकर्ता प्रशिक्षण आयोजना गर्न लागेको छ । प्रशिक्षणका लागि प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेललगायत नेता धनगढी पुगिसकेका छन् ।

सत्तारुढ दल मात्र होइन, प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवस्था पनि उस्तै छ । पार्टी विधान र भ्रातृसंगठन नेविसंघको झमेलामा फसेको कांग्रेसले वैशाखदेखि सञ्चालन गर्ने भनेको जागरण अभियान अलपत्र छ ।

पुस पहिलो साता सम्पन्न महासमिति बैठकबाट कांग्रेसले देशव्यापी प्रशिक्षण तथा जागरण अभियान चलाउने निर्णय गरेको थियो । वैशाखको केन्द्रीय समिति बैठकले निर्वाचनमा पराजयको कारण खोजी गर्दै देशव्यापी पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो । अभियानमा शीर्ष नेता सहभागी गराउने कांग्रेसको योजना थियो । अहिले कांग्रेसले विधानमा सहमति भएपछि मात्रै अभियान लैजाने बताउन थालेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विधान टुंगिएसँगै देशव्यापी अभियान लैजाने प्रतिक्रिया दिए । ‘हामी अबको केन्द्रीय समितिबाट विधान पारित गर्छांै, त्यसपछि देशव्यापी प्रशिक्षण तथा जागरण अभियान लिएर गाउँ तहसम्मै जान्छौं’, प्रवक्ता शर्माले भने ।

कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले पनि स्थानीय तहको वडासम्म प्रशिक्षण कार्यक्रम लैजाने गरी खाका बनाएको थियो । पार्टी उपसभापति विमलेन्द्र निधि संयोजक रहेको प्रतिष्ठानका कार्यक्रम पनि लथालिंग छन् ।

राष्ट्रिय मान्यता प्राप्त राजपालगायत साना दल भने अभियानमा सक्रिय छन् । राष्ट्रिय जनता पार्टीले फागुन १० देखि १३ सम्म जनकपुरमा प्रदेश २ का प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला अध्यक्षमण्डलको बैठक बोलाएको छ । लगत्तै उसले फागुन १४ गते विराटनगर, १६ गते भैरहवा, १७ गते नेपालगन्जमा जिल्ला अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य र विधायकहरूको बैठक बोलाएको छ । २२ देखि २५ सम्म मधेसी, आदिवासी जनजाति बुद्धिजीवीसँगको अन्तक्र्रिया आयोजना गर्न लागिएको संयोजक महेन्द्रराय यादवले बताए ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीले पनि पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ७ सय ७६ किमिको मध्यपहाडी लोकमार्गमा असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा अभियान सञ्चालन गरेको छ ।

डा.भट्टराईसहित हेडक्वार्टर सदस्यको अगुवाइमा सम्बन्धित प्रदेश, स्थानीय तह, विभाग र आंगिक तथा पेसागत संगठनका नेतासहित नयाँ शक्तिले माघ १५ देखि फागुन १५ सम्म अभियान घोषणा गरेको हो ।