८ कार्तिक २०८३, आइतबार

मेलम्ची सक्न नयाँ टेन्डर मागिँदै, फेरि गडबडी

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । मेलम्ची खानेपानी आयोजनाले बाँकी काम सम्पन्न गर्न एक साताभित्रै नयाँ टेन्डर आह्वान गर्ने भएको छ ।

अब गरिने टेन्डर कामको प्रकृतिअनुसार फरक–फरक हुनेछन् । सबै कामका लागि एक मात्रै टेन्डर गर्दा प्रक्रिया लामो र कामसमेत ढिलो हुने भएकाले एकभन्दा बढी टेन्डर आह्वान गर्ने आयोजनाको तयारी छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडिएपछि बाँकी काम कसरी अघि बढाउने भन्ने विषयमा खानेपानी मन्त्रालय र मेलम्ची आयोजना विकास समिति छलफलमा छन् ।

‘सिएमसीसँगको सम्झौता तोडिएपछि नयाँ टेन्डर खुलाउने तयारी भइरहेको छ,’ आयोजना स्रोतले भन्यो, ‘सिंगल टेन्डर गर्दा प्रक्रिया लामो हुन्छ । विशेष अवस्था भनेर कामको प्रकृतिअनुसारका एकभन्दा बढी टेन्डर आह्वान हुन्छ र प्रक्रियासमेत छोटो गर्न सकिन्छ ।’

सरकारले सिएमसीलाई सन् २०१३ मा तीन वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरी सात अर्ब ७२ करोडमा आयोजनाको जिम्मा दिएको थियो ।

तर, भूकम्प, नाकाबन्दीलगायतका कारण देखाउँदै विभिन्न समयमा सम्झौता थप गरिएको थियो । पछिल्लो सम्झौताअनुसार सिएमसीले २७ माघसम्म आयोजनाको काम सक्नुपर्ने थियो ।

विभिन्न कारण देखाउँदै सिएमसीका प्रतिनिधिले २९ मंसिरदेखि नै काम छाडेपछि आयोजना बोर्डले २४ माघमा ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो ।

सिएमसीको आशाले निर्णय हुन सकेन सिएमसीसँगको ठेक्का तोडिएको दुई साता बित्न लाग्दासमेत आयोजनाको बाँकी काम कसरी अघि बढाउने भन्नेबारेमा निर्णय हुन सकेको छैन ।

‘सिएमसीलाई काममा फर्काउन गरिएको पहल र पुनः काममा फर्कने आशाका कारण निर्णय अल्झिएको छ,’ आयोजनाका एक अधिकारीले भने, ‘उसका अनावश्यक सर्त मान्न सकिने अवस्था छैन र आर्थिक रूपमा टाट पल्टिएको कम्पनी काममा फर्केला भनेर भन्न सकिने अवस्था छैन । अब एक साताभित्र निर्णय भइसक्छ ।’